सडकमा आश्रयविहीन अवस्थामा रहेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचारका लागि सुरक्षित कक्ष बनाउन माग
खरसाङ महकुमा अस्पतालमा मानसिक रोगीहरुको उपचारको लागि सुरक्षित उपचार कोठा बनाउने माग


खरसाङ, 0२ नोभेम्बर (हि.स.)। सडकमा आश्रयविहीन अवस्थामा जीवन बिताइरहेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उद्धार तथा उपचारलाई प्रभावकारी बनाउन खरसाङ महकुमा अस्पतालमा सुरक्षित उपचार कक्ष निर्माण गर्नुपर्ने माग उठाइएको छ। यसै मागलाई लिएर दार्जिलिङ सहयोगी हात सोसियल वेलफेयर अर्गनाइजेसनले सोमबार खरसाङ महकुमा अस्पतालका सुपरिटेन्डेन्ट डा. कुणाल चक्रवर्तीसँग भेट गरी ज्ञापनपत्र बुझाएको छ।

सङ्गठनले अस्पताल परिसरभित्र सुरक्षा गार्डको व्यवस्था र फलामे ताल्चासहितको सुरक्षित ढोका भएको छुट्टै उपचार कक्ष निर्माण गर्न माग गरेको छ। प्रस्तावित व्यवस्थाअन्तर्गत पुरुषका लागि पाँच शय्याको छुट्टै कक्ष र महिलाका लागि पाँच शय्याको छुट्टै कक्ष निर्माण गर्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा सङ्गठनकी मुख्य संयोजक सुमित्रा राई, रमेश राई र विक्रम गुरुङलगायत उपस्थित थिए। टोलीले अस्पतालका सुपरिटेन्डेन्ट डा. चक्रवर्ती तथा उनका सहयोगी विप्लव हल्दारसँग यस विषयमा विस्तृत छलफलसमेत गरेको थियो। अस्पतालका सुपरिटेन्डेन्टले यस कार्यमा आवश्यक सहयोग गर्ने आश्वासन दिएको सुमित्रा राईले जानकारी दिएकी छन्।

राईका अनुसार यसअघि पनि यस विषयलाई लिएर खरसाङका महकुमा शासक पेमा शेर्पालाई ज्ञापनपत्र बुझाइएको थियो। सोही क्रममा महकुमा शासकले खरसाङको खहरेस्थित आश्रयगृहको निरीक्षणसमेत गरेका थिए।

खरसाङ क्षेत्रका विभिन्न सडकमा आश्रयविहीन अवस्थामा रहेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको सङ्ख्या उल्लेखनीय रहेको बताउँदै राईले उनीहरूको उद्धार, उपचार तथा उचित हेरचाह सुनिश्चित गर्न अस्पतालमा सुरक्षित उपचार कक्ष निर्माण अपरिहार्य रहेको बताइन्। यस मागलाई थप प्रभावकारी रूपमा अघि बढाउन आगामी दिनमा क्षेत्रका विधायक तथा सांसदलाई समेत भेटेर ज्ञापनपत्र बुझाउने सङ्गठनको योजना रहेको उनले जानकारी दिएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande