
खरसाङ, ०२ नोभेम्बर (हि.स.)। ल्हाबाब दुछेनको अवसरमा तीनधारेमा आयोजित तीन दिवसीय पूजाको आज समापन भएको छ। ल्हाबाब दुछेनको पावन अवसरमा गुरु मैत्री संघ तीनधारेद्वारा पद्मा छ्योलिङ तामाङ गुम्बामा आयोजना गरिएको तीन दिवसीय पूजाको समापन भएको छ। पूजाको अन्तिम दिन श्रद्धालुहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियो। यस अवसरमा श्रद्धेय धर्म गुरु महामहिम खेन्ट्रुल चानलिङ रिन्पोर्छेको करकमलबाट उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई आयुको अभिषेक (वाङ) प्रदान गरियो।अभिषेक पश्चात् आफ्नो प्रवचनमा रिन्पोर्छेले भगवान बुद्धले दिएको शिक्षालाई दैनिक जीवनमा आत्मसात गर्दै अघि बढ्न सके मानव जीवनका दु:ख र कष्टहरु कम गर्न सकिने बताए। साथै, सधैँ मनमा बोधिचित्तको भावना राख्दै सम्पूर्ण प्राणीप्रति दया, माया र करुणाको दृष्टिले हेर्नुपर्ने कुरामा उनले विशेष जोड दिएको म्हाणीपा संघ तीनधारेका सदस्य दावा रिन्छेन तामाङले जानकारी दिए।
हिन्दुस्थान समाचार / हनोक