
मङ्पू, ०२ नोभेम्बर (हि.स.)। रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय, मङ्पूको आयोजनामा सञ्चालित स्वर्गीय एनएल राई स्मृति अन्तरविद्यालय तर्क प्रतियोगिताको अन्तिम स्पर्धा स्थानीय रवीन्द्र भवन, मङ्पूमा सम्पन्न भयो। अन्तिम स्पर्धामा रङ्बी ज्ञानपीठ उच्चत्तर माध्यमिक विद्यालय विजयी हासिल गर्न सफल बन्यो भने गेल उच्चत्तर माध्यमिक विद्यालय उप विजेता बनेको छ। स्पर्धामा उत्कृष्ट वक्ताको रुपमा गेल उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थी रिधेन शेर्पालाई चयन गरियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. सुजाता रानी राई, कुल सचिव दार्जिलिङ पार्वत्य विश्वविद्यालय उपस्थिति थिइन् भने कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक दिलीपकुमार गुरुङले गरेका थिए। प्रतियोगितामा उत्कृष्ट वक्ताहरूले प्रभावशाली तर्क तथा प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा मङ्पू क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, प्राचार्य, हिल युनिभर्सिटीका प्राध्यापकहरू, विद्यार्थी, अभिभावक तथा स्थानीय वरिष्ठ एवं विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा शिक्षक शिक्षिकाहरू दुष्यन्त रामुदामु, दीप मोक्तान, कञ्चन कुमार राई र जगत राईले संयुक्त रूपमा भूमिका निर्वाह गरेका थिए। स्वर्गीय एनएल राईको स्मृतिलाई सम्मान गर्दै विद्यार्थीहरूमा तार्किक क्षमता, वक्तृत्वकला, आत्मविश्वास, विचार अभिव्यक्ति तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस तर्क प्रतियोगिताले मङ्पू क्षेत्रका विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।
हिन्दुस्थान समाचार / हनोक