कोलकातामा ठूलो विमान दुर्घटना टर्यो, शिलङ जाँदै गरेको इन्डिगो विमानको इन्जिन फेल, सांसद सहित ६७ यात्रु सवार
इंडिगो विमान


कोलकाता, ०२ नोभेम्बर (हि.स.)। कोलकाताबाट शिलङ जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमानको एउटा इन्जिन रनवेतर्फ अघि बढ्ने क्रममा अचानक बन्द भएपछि यात्रुहरू ठूलो दुर्घटनाबाट जोगिएका छन्। उक्त विमानमा तीन जना सांसद सहित कूल ६७ जना यात्रु सवार थिए। यस घटनाका कारण यात्रुहरू दुई घण्टासम्म विमानभित्रै बस्न बाध्य भए। त्यसपछि पाइलटले उड़ान रद्द गर्ने निर्णय लिए। यस गम्भीर लापरवाहीलाई लिएर नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) को भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ।

प्राप्त जानकारी अनुसार, सोमवार इन्डिगोको उड़ान सङ्ख्या 6ई 7423 कोलकाता स्थित नेताजी सुभाष चन्द्र बोस अन्तरराष्ट्रिय विमानस्थलबाट शिलङका लागि उड़ान भर्ने तयारीमा थियो। उक्त विमानमा द्रमुकका राज्यसभा सांसद पी. विल्सन सहित अन्य दुई जना सांसद पनि सवार थिए। उनीहरू संयुक्त संसदीय समितिको जनसुनवाइमा सहभागी हुन शिलङ जाँदै थिए। सांसद विल्सनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै विमान पार्किङ बेबाट रनवे अघि बढ़िरहेको बेला अचानक रोकिएको बताए। जाँच गर्दा विमानको एउटा इन्जिनले काम नगरेको पत्ता लागेको थियो। उड़ान भर्नुभन्दा ठीकअघि पाइलटले बाध्य भएर इन्जिन बन्द गर्नुपरेको थियो।

आरोप अनुसार, इन्जिनमा खराबी देखिएपछि पनि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएन। उनीहरूलाई लगभग दुई घण्टासम्म विमानभित्रै पर्खनुपरेको थियो। पछि पाइलटले प्राविधिक खराबीका कारण उड़ान रद्द गरिएको घोषणा गरे। यस घटनाले यात्रुहरूमा स्वाभाविक रूपमा त्रास फैलियो। सांसद विल्सनले चिन्ता व्यक्त गर्दै यदि यस्तो यान्त्रिक खराबी आकाशमा उड़िरहेको बेला भएको भए त्यसको परिणाम कति भयावह हुन सक्थ्यो भन्ने प्रश्न उठाए।

घटनापछि द्रमुकका सांसदले डीजीसीएको कार्यप्रणालीमाथि कड़ा प्रहार गरे। यति गम्भीर समस्या भएको विमानलाई उड़ान भर्ने अनुमति कसरी दिइयो र कुन आधारमा विमान उड़ानयोग्य रहेको प्रमाणपत्र जारी गरियो भन्ने प्रश्न उनले उठाए। विल्सनको दाबी अनुसार, उक्त विमान कुनै पनि हालतमा सुरक्षित थिएन। यस्तो अवस्थामा पनि उड़ानको अनुमति दिनु ठूलो लापरवाही भएको उनले बताए।

सांसदले यस विषयमा तत्काल हस्तक्षेप गर्न केन्द्रिय नागरिक उड्डयन मन्त्री के. राममोहन नायडूसँग माग गरेका छन्। उनले देशमा सञ्चालन भइरहेका सबै विमानका उड़ानयोग्यता प्रमाणपत्रको पुनः परीक्षण गर्नुपर्ने माग गरेका छन्। आवश्यक परे निगरानी निकाय मार्फत आकस्मिक निरीक्षणको व्यवस्था गर्नुपर्ने र कुनै विमान असुरक्षित पाइएमा त्यसको प्रमाणपत्र तत्काल रद्द गरी सेवाबाट हटाउनुपर्ने उनको माग छ।

सांसद विल्सनले यान्त्रिक खराबीको विषय मात्र उठाएनन्, विमान सेवा कम्पनीहरू र नियामक निकायका अधिकारीहरूबीच सम्भावित मिलेमतो रहेको गम्भीर आरोप समेत लगाए। केही अधिकारी र विमान सेवा कम्पनीहरूबीच अनुचित साँठगाँठका कारण यात्रुहरूको सुरक्षासँग सम्झौता भइरहेको उनको दाबी छ। यस्ता घटना रोक्न दोषीहरूलाई कड़ा सजाय दिनुपर्ने, लापरवाही गर्ने अधिकारीहरूलाई बर्खास्त गर्नुपर्ने र सुरक्षासँग सम्झौता गर्ने विमान सेवा कम्पनीहरूको इजाजतपत्र रद्द गर्नुपर्ने माग समेत उनले गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande