डीआईईटी फ्याकल्टी तथा खण्डस्तरीय अधिकारीहरूको दिल्ली-एनसीआरका अग्रणी विद्यालयहरू अध्ययन भ्रमण सम्पन्न
डीआईईटी फ्याकल्टी तथा खण्डस्तरीय अधिकारीहरूको दिल्ली-एनसीआरका अग्रणी विद्यालयहरू अध्ययन भ्रमण सम्पन्न


गान्तोक, 22 नोभेम्बर (हि.स.)। सिक्किमका खण्ड प्रशासनिक केन्द्र (बीएसी) का शिक्षा अधिकारीहरू तथा जिल्ला शिक्षा एवं प्रशिक्षण संस्थान (डीआईईटी) का प्राध्यापकहरू सम्मिलित ४० सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली र गुरुग्रामका विद्यालय तथा शैक्षिक स्रोत संस्थानहरूको छदिने अध्ययन भ्रमण पूरा गरी फर्किएको छ। १५ देखि २० नोभेम्बर, २०२६ सम्म आयोजित उक्त भ्रमण सिक्किम सरकारको शिक्षा विभागअन्तर्गत राज्य शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (एससीईआरटी) ले मुख्यमन्त्री विशेष सङ्ख्याज्ञान कार्यक्रम (सीएमएसएनपी) अन्तर्गत आयोजना गरेको थियो।

प्रतिनिधिमण्डलमा डीआईईटी गान्तोक, डीआईईटी गेजिङ र डीआईईटी नाम्चीका प्राचार्य तथा प्राध्यापकहरूका साथै राज्यका सबै छवटा जिल्लाका खण्डस्तरीय अधिकारीहरू (उपनिर्देशक, सहायक निर्देशक, सहायक शिक्षा अधिकारी तथा खण्ड स्रोत संयोजक) सहभागी थिए।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलका सदस्यहरूले गुरुग्रामस्थित शिव नाडर विद्यालय, नयाँ दिल्लीस्थित जोडो ज्ञान केन्द्र, गुरुग्रामस्थित हेरिटेज एक्सपेरिएन्सियल लर्निङ विद्यालय तथा रोहिणीस्थित द हेरिटेज विद्यालयमा पूर्व प्राथमिकदेखि उच्च प्राथमिक तहसम्मका कक्षाकोठामा सञ्चालन हुने शिक्षण गतिविधिहरूको अवलोकन गरे। उनीहरूले आधारभूत सङ्ख्याज्ञान तथा साक्षरता सिकाइका बालकेन्द्रित र क्रियाकलापमा आधारित शिक्षण पद्धतिमा विशेष ध्यान दिएका थिए।

साथै, शिक्षकहरूलाई मार्गदर्शन, आत्मचिन्तनमा आधारित अभ्यास तथा विद्यालयस्तरीय रूपान्तरणका विषयमा विद्यालय प्रमुख, मार्गदर्शक शिक्षक र पाठ्यक्रम प्रमुखहरूसँग छलफल गरे। भ्रमणको अन्तिम दिन सम्पूर्ण प्रतिनिधिमण्डलको संयुक्त सत्र आयोजना गरिएको थियो। उक्त सत्रमा सदस्यहरूले दिल्ली-एनसीआरका विद्यालयहरूमा अवलोकन गरिएका अभ्यासहरूको सिक्किमका विद्यालयहरूसँग तुलना गरे।

उनीहरूले क्षेत्रस्तरमा शैक्षिक तथा प्रशासनिक सहयोगका विषयमा छलफल गर्दै भ्रमणबाट प्राप्त सिकाइलाई व्यवहारमा उतार्न जिल्लास्तर र खण्डस्तरका कार्ययोजनाहरू तयार पारे। यस भ्रमणले कक्षाकोठामा सङ्ख्याज्ञान र साक्षरता विकास गर्न तथा शिक्षकहरूलाई सहयोग पुर्‍याउन सक्षम विद्यालयहरूले अपनाउने प्रभावकारी अभ्यासहरूलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande