
गान्तोक, 22 नोभेम्बर (हि.स.)। सिक्किम सरकारको पशुपालन तथा पशुचिकित्सा सेवा विभागले हरियाणाको हिसारस्थित आईसीएआर-एनआरसीईसँगको सहकार्यमा २२ नोभेम्बर, २०२६ का दिन गेजीङ जिल्लाको सर्दुङ लुङ्जिक ग्राम पञ्चायत एकाइअन्तर्गत लोअर लुङ्जिकमा वैज्ञानिक पशुपालन तथा विभागीय विभिन्न योजनासम्बन्धी सचेतना कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।
कार्यक्रमको उद्देश्य किसानहरूलाई वैज्ञानिक तथा दिगो पशुपालनका अभ्यासबारे सचेत गराउनु, पशुहरूको उत्पादन क्षमता र स्वास्थ्यमा सुधार ल्याउनु, वैज्ञानिक आहार तथा प्रजनन व्यवस्थापनलाई प्रोत्साहन गर्नु र पशुपालक किसानहरूलाई विभागद्वारा सञ्चालित विभिन्न कल्याणकारी योजना तथा सेवाबारे जानकारी गराउनु रहेको थियो।
गेजिङ जिल्लाको सर्दुङ लुङ्जिकअन्तर्गत पर्ने दुर्गम गाउँ लोअर लुङ्जिकमा यसअघि यस्तो सचेतना कार्यक्रम आयोजना गरिएको थिएन। कठिन भौगोलिक अवस्था र सडक सम्पर्क अवरुद्ध रहेको चुनौतीका बावजुद विभागीय टोलीले कृषक समुदायसम्म पुग्न तथा लाभग्राहीहरूलाई आवश्यक पशुचिकित्सा सेवा, प्राविधिक ज्ञान र सहयोग उपलब्ध गराउन समर्पित प्रयास गरेको थियो।
कार्यक्रममा पशु स्वास्थ्य तथा रोग नियन्त्रण कार्यक्रम, राष्ट्रिय पशुधन अभियान अन्तर्गत पशुधन बीमा, राष्ट्रिय पशुधन अभियान (एनएलएम) अन्तर्गत उद्यमशीलता विकास कार्यक्रम (ईडीपी), सुँगुर उत्पादन प्रोत्साहन योजना, किसान क्रेडिट कार्ड राष्ट्रिय गोकुल अभियान (आरजीएम) अन्तर्गत कृत्रिम गर्भाधान (एआई) सेवा आदि विषयहरूमा छलफल गरिएको थियो।
किसानहरूलाई यी योजना तथा सेवाहरूको लाभ लिन प्रोत्साहित गर्दै थप जानकारी, प्राविधिक मार्गदर्शन तथा योग्यता मापदण्ड र आवेदन प्रक्रियासम्बन्धी सहयोगका लागि नजिकको पशुचिकित्सा संस्थामा सम्पर्क गर्न आग्रह गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल