एनएफडीसी र सोनी पिक्चर्स नेटवर्क्स इन्डियाबीच सम्झौता, देशभरिका लेखक तथा रचनाकारहरूले आफ्ना कथा प्रस्तुत गर्ने अवसर पाउने
गोवा में रविवार को 57वें भारतीय अंतरराष्ट्रीय फिल्म महोत्सव के दौरान एनएफडीसी और सोनी पिक्चर्स नेटवर्क्स इंडिया के बीच समझौता ज्ञापन के बाद के पदाधिकारी।


नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। राष्ट्रिय चलचित्र विकास निगम (एनएफडीसी) र सोनी पिक्चर्स नेटवर्क्स इन्डिया (एसपीएनआई) ले देशभरिका लेखक, सर्जक तथा प्रोडक्सन हाउसलाई आफ्ना मौलिक कथा र कार्यक्रमका अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गर्न सम्झौता गरेका छन्। गोवामा जारी ५७औँ भारतीय अन्तरराष्ट्रिय चलचित्र महोत्सव (आईएफएफआई) का क्रममा दुवै संस्थाले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन्। यस अन्तर्गत ‘वेभ्स बजार एक्स एसपीएनआई कन्टेन्ट क्रिएटर सबमिशन इनिशिएटिभ’ शुरु गरिएको छ।

केन्द्रिय सूचना तथा प्रसारण मन्त्रालयले जनाए अनुसार, यस पहल अन्तर्गत हिन्दी, अंग्रेजी, तमिल, तेलुगु र बङ्गाली भाषामा मौलिक फिक्सन तथा नन-फिक्सन विषयका प्रस्ताव आमन्त्रित गरिएको छ। यसमा फिक्सन सिरिज, प्रिमियम टिभी प्लस कन्टेन्ट, रियालिटी शो, खेल तथा प्रतियोगितामा आधारित कार्यक्रम, प्रतिभामा आधारित कार्यक्रम र अन्य गैर-काल्पनिक कार्यक्रमका अवधारणाहरू समावेश गर्न सकिनेछ। छनोट भएका आवेदकहरूले आफ्ना प्रस्ताव सोनी पिक्चर्स नेटवर्क्स इन्डिया समक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्। ती प्रस्तावलाई थप विकास तथा निर्माणका लागि विचार गरिनेछ।

एनएफडीसीको उद्योग मञ्च ‘वेभ्स बजार’ ले देशको सञ्चारमाध्यम तथा मनोरञ्जन क्षेत्रका सिर्जनात्मक प्रतिभाहरूलाई विभिन्न उद्योगका सरोकारवालासँग जोड्ने काम गर्छ। यस साझेदारीको उद्देश्य मौलिक कथाहरूलाई प्रोत्साहन गर्नु, विशेषगरी क्षेत्रीय बजारबाट आउने प्रतिभाहरूलाई अवसर प्रदान गर्नु तथा विविध भाषा र संस्कृतिका कथाहरूलाई व्यापक दर्शकमाझ पुर्याउनु हो।

सम्झौताका अवसरमा एनएफडीसीका अध्यक्ष जी. कृष्णकुमारले आईएफएफआई सिनेमा र यससँग सम्बन्धित व्यक्तिहरूको उत्सव भएको बताए। यसले विश्वभरिका कथा, संस्कृति र सिर्जनात्मक आवाजहरूलाई एउटै मञ्चमा ल्याउने उनले बताए। उनले चलचित्र र आवाजहरूको विविधताले नै यस आयोजनालाई विशेष बनाउने उल्लेख गरे। यस वर्षको विषयवस्तु ‘स्टोरीज विदाउट बोर्डर्स’ ले सिनेमाको भावनालाई सुन्दर ढङ्गले व्यक्त गर्ने पनि उनले बताए।

एनएफडीसीका प्रबन्ध निदेशक धीरज सिंहले वेभ्स बजारले सिर्जनात्मक प्रतिभा र मनोरञ्जन उद्योगबीच अर्थपूर्ण सम्पर्क स्थापित गरिरहेको बताए। सोनी पिक्चर्स नेटवर्क्स इन्डियासँगको यो साझेदारीले लेखक, सर्जक तथा प्रोडक्सन हाउसका लागि विभिन्न भाषा र प्रारूपमा मौलिक अवधारणा प्रस्तुत गर्ने नयाँ अवसरहरू खोल्ने उनले बताए।

सोनी पिक्चर्स नेटवर्क्स इन्डियाका प्रबन्ध निदेशक एवं प्रमुख कार्यकारी अधिकृत गौरव ब्यानर्जीले देशभरि अपार सिर्जनात्मक प्रतिभा रहेको, तर कतिपय अवस्थामा उनीहरूका विचार स्थापित मञ्चसम्म पुग्न नसक्ने बताए। एनएफडीसीसँगको यो साझेदारी लेखक तथा सर्जकहरूलाई आफ्ना मौलिक विचार प्रस्तुत गर्न थप अवसर उपलब्ध गराउने दिशामा एउटा कदम भएको उनले बताए।

/ बिशाल


 rajesh pande