
कोटा (राजस्थान), २२ नोभेम्बर (हि.स.)। कोटा-उदयपुर राष्ट्रिय राजमार्गमा शम्भूपुरा गाउँ नजिक शनिवार मध्यरातपछि लगभग १ बजी भएको सड़क दुर्घटनामा महाराष्ट्रको एउटै परिवारका नौ सदस्यको मृत्यु भएको छ। दुर्घटनामा कैयौँ व्यक्ति घाइते भएका छन्। घटना नान्ता थाना क्षेत्रको हो। सूचना प्राप्त हुनासाथ पुलिस र उद्धार टोली घटनास्थलमा पुगे। सिटी एसपी तेजस्वनी गौतमले उद्धार कार्यको निगरानी गरिन्।
पुलिस अनुसार, क्रुजर गाड़ीमा महाराष्ट्रको धुले जिल्लाका एउटै परिवारका १६ जना यात्रा गरिरहेका थिए। परिवार धार्मिक स्थलहरूको दर्शन गर्न मंगलवार महाराष्ट्रबाट प्रस्थान गरेको थियो। श्रद्धालुहरूले पहिले मध्यप्रदेशको ओंकारेश्वर र त्यसपछि राजस्थानको पुष्कर तथा खाटूश्यामजीमा दर्शन गरेका थिए। शनिवार राति सबैजना आफ्नो घर फर्किरहेका थिए।
दुर्घटनामा क्रुजरमा सवार आठ जनाको घटनास्थलमै मृत्यु भयो। गम्भीर घाइते माधवीलाई अस्पताल पुर्याइएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भयो। न्यू मेडिकल कलेज अस्पतालका अधीक्षक डा. आशुतोष शर्मा अनुसार, घाइतेहरूलाई अस्पताल ल्याइएको छ। गम्भीर घाइते मनीषालाई भेन्टिलेटरमा राखिएको छ।
मृतकहरूको पहिचान उषा बाई, सुशीला (५५), कैलाश (४५), सांवी, सज्जन, अनीता, बाबुलाल (६०), जाह्नवी (१३) र माधवीका रूपमा भएको छ। एउटै परिवारका नौ सदस्यको मृत्यु भएपछि परिवारजनमा रुवाबासी मच्चिएको छ। घाइतेहरूमा जगदीश (१०), मयूरी पवार (२०), मनीषा पवार (४५), शरद पवार (४६), गणेश पवार (३०), सृजेत (३) र ट्रक चालक हारुन (४३) रहेका छन्। उनीहरूको न्यू मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त क्रुजरको पछाड़ी अर्को गाड़ीमा यात्रा गरिरहेका प्रदीपले परिवारका सबै ३६ जना तीन वटा गाड़ीमा धार्मिक यात्राका लागि निस्केको बताए। खाटूश्यामजीको दर्शन गरेपछि शनिवार राति उनीहरू महाराष्ट्रका लागि प्रस्थान गरेका थिए। प्रदीप अनुसार, बाटोमा सबै गाड़ी एकअर्काको नजीक चलिरहेका थिए। अचानक अगाड़ी गुड़िरहेको क्रुजर दुर्घटनाग्रस्त भयो।
घाइते ट्रक चालक हारुन (४३) मध्यप्रदेशको खण्डवाका बासिन्दा हुन्। उनले ट्रकमा प्राविधिक समस्या आएपछि सड़क किनारमा रोक्नुपरेको बताए। उनी ट्रकबाट केही दूरीमा उभिएका थिए। यसै क्रममा पछाड़ीबाट आएको तीव्र गतिमा रहेको क्रुजरले पहिले उनलाई ठक्कर दियो र त्यसपछि ट्रकको पछाड़ीको भागमा ठोक्कियो। ठक्कर लागेपछि उनी लगभग २० फिट टाढ़ा लड़ेर बेहोस भएका थिए। हारुन अनुसार, लगभग १० मिनेटपछि होस आएपछि उनले पुलिस र एम्बुलेन्सलाई सूचना दिए। उनको टाउको र घुँड़ामा चोट लागेको छ।
/ बिशाल