
काठमाडौँ, २२ नोभेम्बर (हि.स.)। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भारतको राजकीय भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुलाई नेपालका दुई महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक धरोहरसँग सम्बन्धित प्रतिमा उपहारस्वरूप प्रदान गर्ने भएका छन्। यसअघि नेपालका प्रधानमन्त्रीहरूले भारत भ्रमणका क्रममा भगवान् पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने गरेका थिए।
प्रधानमन्त्री शाह आज दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुग्दैछन्। सोमबार उनले भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा शाहले प्रधानमन्त्री मोदीलाई रातो मच्छिन्द्रनाथको प्रतिमा उपहार दिनेछन्। रातो मच्छिन्द्रनाथ नेपालका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएका प्रमुख देवता हुन्।
नेपालको परम्परागत मान्यताअनुसार लिच्छवि राजा नरेन्द्रदेवले रातो मच्छिन्द्रनाथलाई भारतको तत्कालीन कामरूप (हालको असम) स्थित कामाख्या क्षेत्रबाट काठमाडौँ उपत्यकामा ल्याएका थिए। धार्मिक विश्वासअनुसार त्यस समयमा उपत्यकामा लामो समयसम्म वर्षा नहुँदा अनिकालको अवस्था सिर्जना भएको थियो। मच्छिन्द्रनाथलाई नेपाल ल्याएपछि वर्षा शुरु भएको मान्यता छ।
त्यसैगरी, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मुलाई काठमाडौँको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित प्रतिमा उपहार दिनेछन्। चारुमती विहारको इतिहास भारतका मौर्य सम्राट अशोक र उनकी छोरी चारुमतीसँग जोडिएको छ।
परम्परागत मान्यताअनुसार सम्राट अशोक आफ्नी छोरी चारुमतीसँगै काठमाडौँ उपत्यका आएका थिए। चारुमतीले स्थानीय राजकुमार देवपालसँग विवाह गरी देवपाटन क्षेत्रमा बसोबास गर्न थालेकी थिइन्। उनले सोही क्षेत्रमा विहार निर्माण गराएको विश्वास गरिन्छ। उनको निधन पनि यही क्षेत्रमा भएको बताइन्छ।
नेपालका यी दुई ऐतिहासिक धरोहरसँग सम्बन्धित प्रतिमाहरू उपहारस्वरूप प्रदान गरेर प्रधानमन्त्री शाहले नेपाल र भारतबीच सदियौँदेखि रहँदै आएको धार्मिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई थप उजागर गर्ने प्रयास गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल