दार्जिलिङको चियालाई पुनः विश्वस्तरीय शक्ति बनाउन सरकारले सहयोग गर्नेछ : केन्द्रिय मन्त्री पियुष गोयल
Piyush goyal and mp raju bist


खरसाङ, २२ नोभेम्बर (हि.स.)। केन्द्रिय उद्योग तथा वाणिज्यमन्त्री पियुष गोयलले दार्जिलिङ पहाड तथा तराई-डुवर्स क्षेत्रका चियाबगान उद्योगसँग सम्बन्धित सरोकारवालाहरूसँग बैठक गरेका छन्। खरसाङको मकैबारी चियाबगानस्थित एक निजी होटलमा सम्पन्न बैठकमा उनले चियाबगान उद्योगसँग सम्बन्धित विभिन्न समस्याबारे छलफल गरेका थिए।

बैठकमा चियाबगान उद्योगको विकास तथा यससँग जोडिएका आर्थिक सम्भावनाबारे चर्चा गरिएको थियो। विशेषगरी दार्जिलिङ पहाड तथा तराई-डुवर्स क्षेत्रका चिया उद्योगले भोगिरहेका समस्या, तिनको समाधान, उद्योगको संरक्षणका लागि आवश्यक पहल तथा यससम्बन्धी जानकारी र अनुभव आदानप्रदान गरिएको थियो। साथै, चियाबगानहरूले सामना गरिरहेका विभिन्न चुनौतीबारे पनि छलफल भएको थियो।

बैठकमा दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक सोनाम लामा तथा चिया उद्योगसँग सम्बन्धित प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री गोयलले दार्जिलिङ पहाड तथा तराई-डुवर्स क्षेत्रका चिया उद्योगको संरक्षण र सुधार, चियाको निर्यात वृद्धि तथा चिया लिलामीको दायरा विस्तारलगायत विषयमा प्रतिनिधिहरूसँग छलफल भएको र उनीहरूबाट विभिन्न सुझाउ प्राप्त भएको बताए।

उनले भारत कालो चियाको सबैभन्दा ठूलो निर्यातकर्ता तथा विश्वको दोस्रो ठूलो चिया उत्पादक राष्ट्र रहेको बताए। बैठकमा गुणस्तरीय चिया उत्पादनका लागि नयाँ विधि अपनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।

केन्द्रिय मन्त्री पियुष गोयलले भने, “हाम्रो प्राथमिकता चियाबगानका श्रमिकहरूको उज्ज्वल भविष्य निर्माण गर्नु हो। प्रधानमन्त्री चिया बगान योजनामार्फत चियाबगानका श्रमिकहरूको स्वास्थ्य तथा उनीहरूका बालबालिकाको शिक्षाका लागि ३१२ करोड रुपियाँ विनियोजन गरिएको छ। चियाको निर्यात बढाउन काम गरिनेछ। यसका साथै, चिया अनुसन्धान केन्द्रहरूलाई पनि सहयोग गर्ने विषयमा बैठकमा निर्णय लिइएको छ।”

उनले पश्चिम बङ्गालको ममता सरकारले श्रमिकहरूको हितमा काम नगरेको आरोप लगाउँदै चियाबगानका श्रमिकहरूको हितका लागि भारत सरकारका विभिन्न योजनासमेत कार्यान्वयन नगरेको बताए। अब पश्चिम बङ्गालमा शुभेन्दु अधिकारीको सरकार बनेपछि श्रमिकहरूको हितमा धेरै काम हुने आशा व्यक्त गरे।

केन्द्रिय मन्त्री गोयलले दार्जिलिङ चिया देशको गौरव भएको उल्लेख गर्दै यसलाई पुनः विश्वस्तरीय शक्ति बनाउन सरकारले सहयोग गर्ने बताए। उनले दार्जिलिङ चियाको नाममा हुने नक्कली व्यापार रोक्न पनि आवश्यक कदम चालिने जानकारी दिए। दार्जिलिङ चियाको विशिष्ट मिठास देश तथा विदेशका बजारसम्म पुर्‍याइने उनको भनाइ थियो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande