मुख्यमन्त्रीले शिक्षा सम्मेलन २०२६ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कारको घोषणा गरे
मुख्यमन्त्रीले शिक्षा सम्मेलन २०२६ मा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कारको घोषणा गरे


गान्तोक, 22 नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले २०२७ देखि उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कृत गर्ने घोषणा गरेका छन्। यो पुरस्कार वरिष्ठ माध्यमिक, माध्यमिक, जुनियर हाई स्कूल तथा प्राथमिक गरी चारवटा श्रेणीमा प्रदान गरिनेछ। प्रत्येक श्रेणीमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार प्रदान गरिनेछ।

विद्यालयको तह जुनसुकै भए पनि सबै श्रेणीका विजेतालाई समान नगद पुरस्कार प्रदान गरिने मुख्यमन्त्रीले बताए। विद्यालय शिक्षामा उत्कृष्टतालाई मान्यता दिँदै प्रोत्साहन गर्ने तथा विद्यालयहरूलाई आफ्नो प्रदर्शनमा सुधार ल्याउन प्रेरित गर्ने उद्देश्यले उक्त पुरस्कारको घोषणा गरिएको हो। मुख्यमन्त्रीले गान्तोकस्थित मनन केन्द्रमा सिक्किम सरकारको शिक्षा विभागद्वारा आयोजित ‘शिक्षा सम्मेलन २०२६- सिक्किम शिक्षा नेतृत्व शिखर सम्मेलन’ का क्रममा यो घोषणा गरेका हुन्।

सम्मेलनमा राज्यभरिका ७३६ सरकारी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू र शिक्षा अधिकारीहरूको सहभागिता रहेको थियो। विद्यालय शिक्षालाई सुदृढ बनाउन आवश्यक प्रमुख विषय, प्राथमिकता र रणनीतिबारे दुईतर्फी संवाद गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सरकार र विद्यालय शिक्षाको अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिहरूबीच दुईतर्फी संवादका लागि साझा मञ्च निर्माण गर्नु नै यस कार्यक्रमको मूल परिकल्पना रहेको बताए। शिक्षा समाजको मेरुदण्ड रहेको उल्लेख गर्दै उनले विद्यार्थी र राज्यको भविष्य निर्माणमा विद्यालय प्रमुख तथा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका रहने बताए।

सिक्किमका विभिन्न सरकारी विद्यालयका प्रमुखहरूको सहभागिताप्रति खुशी व्यक्त गर्दै मुख्यमन्त्रीले राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० अनुरूप राज्य सरकारले विभिन्न पहल तथा योजनाहरू कार्यान्वयन गरेको बताए। ती पहलहरूको सकारात्मक परिणाम विद्यार्थीहरूको शैक्षिक प्रदर्शनमा क्रमशः देखिन थालेको उनले उल्लेख गरे।

यी उपलब्धिहरूको श्रेय विद्यालय प्रमुख तथा शिक्षकहरूको समर्पण र प्रयासलाई दिँदै उनले पछिल्ला वर्षहरूमा राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) उत्तीर्ण गर्ने उल्लेख्य सङ्ख्याका विद्यार्थी सरकारी विद्यालयबाट रहेको बताए। विद्यालयको प्रदर्शन धेरै हदसम्म त्यसको नेतृत्वमा निर्भर रहने उल्लेख गर्दै मुख्यमन्त्रीले विद्यालय शिक्षालाई सुदृढ बनाउने र सिकाई उपलब्धिमा सुधार ल्याउने विषयमा विद्यालय प्रमुखहरूलाई सम्मेलनको छलफलको केन्द्रबिन्दुका रूपमा व्याख्या गरे।

उनले विद्यालय प्रमुखहरूलाई मुख्य शिक्षा अधिकारी, सहायक शिक्षा अधिकारी तथा जिल्लास्तरीय अधिकारीहरूसँग घनिष्ठ समन्वय गरी काम गर्न आह्वान गरे। निरन्तर संवाद कायम राख्न र स्थानीय चुनौतीहरूको समाधान गर्न जिल्लास्तरमा पनि यस्तै सम्मेलन नियमित रूपमा आयोजना गर्न उनले सुझाव दिए।

मुख्यमन्त्रीले शिक्षकको उपलब्धता तथा शिक्षण स्रोतसाधनको प्रभावकारी परिचालन सुनिश्चित गर्न विद्यालय र शिक्षा अधिकारीहरूबीच थप समन्वय हुनुपर्ने आवश्यकतामा पनि जोड दिए। उनले आसाम लिङ्जेमा रहेको मुख्यमन्त्री आदर्श विद्यालयमा भर्नाका लागि बढ्दै गएको मागबारे पनि प्रकाश पारे। उनले आवेदकहरूको बढ्दो सङ्ख्यालाई समायोजन गर्न सरकारी प्रायोजित छात्रवृत्ति सिटसँगै शुल्क तिरेर भर्ना हुने सिटसमेत व्यवस्था गरिएको बताए।

शिक्षामन्त्री राजु बस्नेतले आफ्नो सम्बोधनमा अप्रेल २०२६ मा आयोजित शिक्षा सम्मेलनको स्मरण गरे। उक्त सम्मेलनमा मुख्यमन्त्रीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर यति सुदृढ़ बनाउने परिकल्पना व्यक्त गरेका थिए कि ती विद्यालय अभिभावकहरूको पहिलो रोजाई बन्न सकून्। शिक्षा विभागले यस परिकल्पनालाई निरन्तर प्राथमिकता दिँदै विद्यालय शिक्षाको गुणस्तर सुदृढ बनाउन काम गरिरहेको मन्त्रीले बताए।

विद्यालय नेतृत्वको महत्त्वमाथि प्रकाश पार्दै मन्त्रीले सुधारका कार्यक्रम, नीति तथा विभागीय पहलहरूको सफलता अन्ततः विद्यालयस्तरको प्रतिबद्धता र नेतृत्वमा निर्भर रहने बताए। आफ्नो पदस्थापन जहाँ भए पनि समर्पणका साथ विद्यालयमा सेवा दिँदै आएका विद्यालय प्रमुख तथा शिक्षकहरूको प्रशंसा गर्दै उनले शैक्षिक नतिजामा भएको सुधारका लागि उनीहरूलाई बधाई दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande