
नयाँ दिल्ली, २२ नोभेम्बर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति सीपी राधाकृष्णन तथा केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु सहित विभिन्न नेताहरूले आइतवार राज्यसभा सदस्य रामराव सखाराम वाडकुटेको निधनमा दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति मुर्मुले एक्समा लेखेकी छन्, “सखाराम वाडकुटे जनकल्याणका कार्यप्रति समर्पित थिए र उनले महाराष्ट्र तथा देशको विकासमा बहुमूल्य योगदान दिए। उनका परिवारजन, प्रशंसक तथा शुभचिन्तकहरूप्रति मेरो हार्दिक समवेदना छ।”
राष्ट्रपतिले सार्वजनिक जीवनमा सखाराम वाडकुटेको योगदान र जनताको सेवाका लागि उनले गरेका कार्यलाई सधैँ स्मरण गरिने बताएकी छन्। उनका परिवार, मित्र तथा समर्थकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घड़ीमा ईश्वरले उनीहरूलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गरेकी छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले सांसद डा. रामराव सखाराम वाडकुटेको निधन अत्यन्त दुःखद भएको बताएका छन्। दुःखको यस घड़ीमा आफू शोकसन्तप्त परिवारसँग रहेको उल्लेख गर्दै उनले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै परिवारलाई यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
रिजिजुले राज्यसभा सदस्य रामराव वाडकुटेका परिवार तथा मित्रहरूप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। ईश्वरले दिवंगत आत्मालाई शान्ति प्रदान गरून् र यस कठिन घड़ीमा उनका परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै उनले ॐ शान्ति भनेका छन्।
भारतीय जनता पार्टीका राज्यसभा सदस्य रामराव वाडकुटेको हृदयाघातका कारण निधन भएको हो। उनको आयु ७२ वर्ष थियो। रामराव वाडकुटेले आठ महिनाअघि मात्रै भाजपा सांसदका रूपमा राज्यसभामा प्रवेश गरेका थिए। यसअघि उनले लामो समयसम्म धनगर समुदायको सेवा गरे। जिल्लामा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै भेड़ा-बाख्रा विकास निगमको प्रमुखका रूपमा समेत काम गरे। छाती दुखेको गुनासो गरेपछि उनलाई अस्पताल भर्ती गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको हो।
हिन्दुस्थान समाचार / भवानी थामी