
गान्तोक, 22 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालको कुचबिहार जिल्ला अन्तर्गत मेख्लिगञ्ज महकुमा क्षेत्रमा लक्ष्मी नन्दी स्मृति प्रतिष्ठानको सातौँ स्थापना दिवस र पुरस्कार अलङ्करण स्मारोहमा आज सिक्किमका साहित्यकार कथाकार युवा बराल ‘अनन्त’ लाई ‘लक्ष्मी नन्दी स्मृति पुरस्कार' द्वारा सम्मानित गरिएको छ । कार्यक्रमका मुख्य अतिथि मेख्लिगञ्जका विधायक दधिराम राय थिए भने विशिष्ट अतिथिको रुपमा मेख्लिगञ्ज महकुमा अधिकारी लोब्साङ्ग तामाङ्ग उपस्थित थिए। उक्त कार्यक्रमको विशेष आकर्षण बाङ्लादेश, कोलकाता, इस्लामपूर, कोचबिहार, सिलगढ़ी तथा स्थानीय कवि साहित्यकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यस प्रतिष्ठानका संस्थापक बाङ्गला साहित्यका वरिष्ठ कवि कुणाल नन्दीले आफ्नी दिवङ्गत पत्नी स्व लक्ष्मी नन्दीको पूण्य स्मृतिमा स्थापना गरेका हुन्। यस भव्य स्मारोहमा नेपाली भाषाका वरिष्ठ साहित्यकार युवा बराल ‘अनन्त’ का साथमा कूल नौजना साहित्य कला सर्जकले सम्मान ग्रहण गरे।
कार्यक्रमबारे आफ्नो अनुभव राख्दै कथाकार युवा बरालले आफुलाई बाङ्ग्ला साहित्य र साहित्यकारहरूसँग परिचित गराउनमा मुख्य भूमिका खेल्ने इस्लामपुरका वरिष्ठ कवि सुशान्त नन्दीलाई धन्यवाद दिँदै यस किसिमको साहित्यिक आदान प्रदानले आफ्नो सृजन क्षेत्र अझ फाँटिलो र विस्तृत बनेको बताए। उनले कोलकाताका कवि शुभोदिप रोय, बाग्लादेशका कवि जाकीर हुसेन, बाङ्ग्लादेशका अर्का कवि विधान दत्त लगायत अन्य स्थानीय कवि साहित्यकारहरूसँग आफ्नो विचार र भावना अभिव्यक्त गर्न पाउँदा आफुलाई अत्यन्त हर्षानुभूति भएको बताए।
हिन्दुस्थान समाचार / बिशाल