
कोलकाता, 23 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा सोमवार मौसमको मिश्रित प्रभाव देख्न सकिन्छ। दक्षिण बङ्गालका जिल्लाहरूसँगसँंगै उत्तर बङ्गालको पहाड़ी क्षेत्रहरूमा पनि हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। तर राज्यका अधिकांश भागमा मौसम मुख्यतया सुख्खा रहने अनुमान गरिएको छ।
मौसम विभाग अनुसार आगामी तीन-चार दिनमा राज्यका केही भागहरूमा न्यूनतम तापक्रम तीनदेखि चार डिग्री सेल्सियससम्म घट्न सक्छ।
अलिपुरस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रको पूर्वानुमान अनुसार सोमवार कोलकातामा आंशिक बादल रहने छ। शहरको अधिकतम तापमान 29 डिग्री र न्यूनतम 21 डिग्री सेल्सियस वरपर रहनेछ। मौसम विभागले कोलकाताको लागि कुनै विशेष चेताउनी जारी गरेको छैन।
दक्षिण बङ्गालमा उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा एवं नादियाका केही ठाउँहरूमा हल्का वर्षा हुने सम्भावना छ भने कोलकाता, हावड़ा एवं हुगलीमा मौसम मुख्यतया सुख्खा रहनसक्छ। पुरुलिया, पूर्व र पश्चिम बर्दवान, बीरभूम तथा मुर्शिदाबादमा पनि वर्षा हुने सम्भावना कमै छ।
उत्तर बङ्गालको दार्जीलिङ र कालेबुङ जिल्लाका केही ठाउँहरूमा हल्का वर्षा वा गर्जनसितै वर्षा हुने सम्भावना छ। अर्कोतर्फ जलपाईगुडी, अलिपुरद्वार, कुचबिहार, उत्तर र दक्षिण दिनाजपुर एवं मालदामा मुख्यतया सुख्खा मौसम रहने सम्भावना छ।
मौसम विभाग अनुसार आगामी केही दिनमा तापमान घट्नको साथै राज्यमा चिसोको प्रभाव तीव्र हुनेछ। विशेष गरी उत्तर बङ्गालका जिल्लाहरूमा रातको तापक्रम घट्ने हुनाले बिहान-बेहुली अधिक मात्रामा चिसो महसूस हुनसक्छ। । दक्षिण बङ्गालमा पनि न्यूनतम तापक्रम घट्दै जाँदा मौसम अझ चिसो हुने सङ्केतहरू देखिएको छ।
23 नोभेम्बरमा जारी गरिएको भारतीय मौसम विज्ञान विभागको चेताउनी सम्बन्धी पूर्वानुमानमा आगामी सात दिनसम्मको लागि गाङ्गीय पश्चिम बङ्गाल र उप-हिमालयी पश्चिम बङ्गालका लागि कुनै विशेष मौसम चेताउनी जारी गरिएको छैन।
--------
/ बिशाल