सीएपी अध्यक्षद्वारा श्री सत्य साई बाबाको जन्मजयन्तीमा शुभकामना व्यक्त
श्री सत्य साई बाबा


गान्तोक, २३ नोभेम्बर (हि.स.)। सिटिजन एक्सन पार्टी, सिक्किमका अध्यक्ष गणेश कुमार राईले भगवान् श्री सत्य साई बाबाको पावन जन्मजयन्तीको अवसरमा सिक्किमका सम्पूर्ण जनतासहित विश्वभरिका उहाँका भक्त तथा अनुयायीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

राईले आफ्नो सन्देशमा भगवान् श्री सत्य साई बाबाको शाश्वत सन्देश ‘सबैलाई प्रेम गरौँ, सबैको सेवा गरौँ’ तथा ‘सधैँ सहयोग गरौँ, कसैलाई दुःख नपुर्याऔँ’ ले मानवताको वास्तविक सार करुणा, निःस्वार्थ सेवा, सत्य, शान्ति र आपसी सम्मानमा निहित रहेको स्मरण गराउने बताएका छन्।

उनले श्री सत्य साई बाबाका शिक्षाहरू धार्मिक तथा सामाजिक सीमाभन्दा माथि रहेको उल्लेख गर्दै प्रेम, सद्भाव र विश्वबन्धुत्वमा आधारित समाज निर्माणका लागि सबैलाई प्रेरित गरिरहेको बताएका छन्।

राईले उहाँका महान् आदर्शहरूले हाम्रो जीवनलाई निरन्तर मार्गदर्शन गरून्, मानवताप्रतिको विश्वासलाई अझ सुदृढ बनाऊन् तथा शान्तिपूर्ण, करुणामय र सद्भावपूर्ण विश्व निर्माणका लागि कार्य गर्न प्रेरणा प्रदान गरून् भन्ने कामना गरेका छन्।

उनले भगवान् श्री सत्य साई बाबाको आशीर्वादले सबैमा शान्ति, विवेक र सुख-समृद्धि कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande