सातदेखि आठ ऐकरमा सयपत्री फूल खेती गरेर विद्याधरले कमाउँदैछन् लाखौँ रुपियाँ
किसान विद्याधर पटेल के खेतों में तैयार गेंदा फूल


किसान विद्याधर पटेल के खेतों में तैयार गेंदा फूल


- छत्तीसगढसँगै ओडिशाका विभिन्न जिल्लामा पनि फूलको आपूर्ति

रायपुर, २३ नोभेम्बर (हि.स.)। खेतीमा नयाँ सोच, मेहनत र बजारको मागअनुसार परिवर्तन गर्न सके कृषिलाई राम्रो आम्दानीको माध्यम बनाउन सकिन्छ। रायगढ जिल्लाको लैलुङ्गा विकासखण्डअन्तर्गत कोडकेल गाउँ निवासी किसान विद्याधर पटेलले आफ्नो मेहनत र अनुभवबाट यसलाई प्रमाणित गरेका छन्।

२००७-०८ देखि सयपत्री फूलको खेती गर्दै आएका विद्याधरले अहिले सातदेखि आठ ऐकर जमिनमा यसको उत्पादन गरिरहेका छन्। उनको खेतमा उत्पादित सयपत्री फूल छत्तीसगढका विभिन्न जिल्लासँगै छिमेकी राज्य ओडिशासम्म पुग्ने गरेको छ। यस खेतीबाट उनले राम्रो आम्दानी गर्नुका साथै स्थानीय मानिसहरूलाई रोजगारीसमेत उपलब्ध गराइरहेका छन्।

विद्याधरका अनुसार, उनी १९९४-९५ देखि नै तरकारी खेती गर्दै आएका थिए। यस क्रममा रायपुर र रायगढमा आयोजित कृषि प्रदर्शनीहरूमा गमलामार्फत तरकारी खेतीको नमुना पनि प्रस्तुत गर्ने गर्थे। यिनै प्रदर्शनीहरूमा सयपत्री फूलको राम्रो माग र बिक्री देखेपछि उनको मनमा यसको व्यावसायिक खेती शुरु गर्ने विचार आएको थियो। त्यसपछि २००७-०८ मा उनले सयपत्री फूलको खेती शुरु गरे र अनुभव बढ्दै जाँदा क्रमशः खेतीको क्षेत्रफल पनि विस्तार गर्दै लगे।

शुरुआती चरणमा सयपत्री खेती गर्दा उनले विभिन्न चुनौतीको सामना गर्नुपरेको थियो। शुरुमा खुल्ला खेतमै बिरुवा तयार गर्ने गर्थे। तर, धेरैपटक बीउ राम्रोसँग उम्रिन नसक्दा पुनः बीउ मगाएर रोप्नुपर्ने अवस्था आउँथ्यो। यसले गर्दा बिरुवा तयार हुन ढिलाइ हुने र दशैँ-तिहारको मुख्य मौसममा फूल बजारसम्म पुर्‍याउन कठिन हुन्थ्यो। समयमा बिक्री हुन नसक्दा फूल बिग्रिने र लगानी डुब्ने जोखिमसमेत रहन्थ्यो।

यस समस्याको समाधान खोज्दै उनले प्लास्टिकका थैलीमा बिरुवा तयार गर्न शुरु गरे। यस प्रविधिको फाइदा के भयो भने तिहारको समयमा फूल बिक्री हुन नसके पनि पछि बजारमा बिक्री गर्न सकिने भयो। यस प्रविधिले उत्पादन र बिक्रीबीच राम्रो तालमेल कायम गर्न सहयोग पुर्‍याउनुका साथै नोक्सानीको जोखिम पनि कम गर्‍यो।

विद्याधरका अनुसार, सयपत्री खेतीबाट एक ऐकर जमिनमा करिब पाँच लाख रुपियाँसम्मको बिक्री गर्न सकिन्छ भने प्रतिऐकर उत्पादन लागत करिब एकदेखि डेढ लाख रुपियाँसम्म पर्छ। दशैँदेखि तिहारसम्म फूलको माग सबैभन्दा बढी हुने भएकाले उनी यही अवधिलाई ध्यानमा राखेर उत्पादन र बिक्रीको तयारी गर्छन्। सिँचाइका लागि उनीसँग दुईवटा निजी बोरवेल छन्। खेतमा पाइपलाइन बिछ्याउनुका साथै आवश्यकताअनुसार थोपा सिँचाइ र फोहोरा सिँचाइको व्यवस्था पनि गरिएको छ।

विद्याधरको खेतमा उत्पादित सयपत्री फूलको माग छत्तीसगढसँगै छिमेकी राज्य ओडिशामा पनि छ। ओडिशाका सुन्दरगढ, झारसुगुडा, राउरकेला, सम्बलपुर र बरगढलगायत विभिन्न क्षेत्रमा नियमित रूपमा फूल आपूर्ति गरिन्छ। यसका अतिरिक्त सारंगढ, रायगढ, सक्ती, चाम्पा, कोरबा, अम्बिकापुर र जशपुरसम्म पनि फूल पठाइन्छ। खेतीको मुख्य मौसममा दैनिक करिब १२ देखि १५ वटा सवारीसाधनमार्फत फूल वितरण गरिन्छ। फूलको बिक्री नगदमा हुने गरेको छ भने श्रमिक र सवारीचालकहरूलाई पनि नियमित रूपमा पारिश्रमिक भुक्तानी गरिन्छ।

यस खेतीको सफलतामा विद्याधरको परिवारको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। उनकी पत्नी र तीनै जना छोरीले खेतीपातीको काममा समान रूपमा सहयोग गर्छन्। यसका साथै गाउँका १५ देखि २० जना श्रमिक नियमित रूपमा उनीसँग काम गर्छन्। फूल बजारसम्म पुर्‍याउन आफ्नै सवारीसाधनका अतिरिक्त दैनिक आठदेखि १० वटासम्म सवारीसाधन भाडामा लिनुपर्ने हुन्छ। यसरी उनको खेतीबाट प्रत्यक्ष रूपमा श्रमिकहरू र अप्रत्यक्ष रूपमा सवारीचालकहरूले समेत नियमित रोजगारी पाइरहेका छन्।

सयपत्री फूल खेतीका अतिरिक्त विद्याधरले करिब चारदेखि पाँच एकड जमिनमा मौसमी तरकारी पनि उत्पादन गर्छन्। यसमा भिण्डी, बोडी, बन्दागोभी र काउली प्रमुख छन्। सयपत्री फूलको मौसम समाप्त भएपछि उनी तरकारी खेती र बिक्रीमा ध्यान केन्द्रित गर्छन्। यसबाहेक छत्तीसगढको परम्परागत छत्तीस प्रकारका सागसब्जी पनि आफ्नै करेसाबारीमा उत्पादन गर्छन्। यसरी फूल र तरकारी खेतीमार्फत उनले आम्दानीका विभिन्न स्रोत तयार गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande