
पटना, २४ नोभेम्बर (हि.स.)। बिहारको लखीसराय जिल्लास्थित लखीसराय-जमुई मुख्य सडकखण्डको गुणसागर गाउँनजिक ट्रक र स्कर्पियो ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने एक बालकसहित चार जना गम्भीर घाइते भएका छन्। स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूलाई दुर्घटनाग्रस्त सवारीसाधनबाट बाहिर निकालियो।
यो दुर्घटना तेतरहाट थाना क्षेत्रअन्तर्गत भएको हो। प्रारम्भिक जानकारीअनुसार, पूर्वी चम्पारण जिल्लाको मोतिहारी निवासी स्कर्पियोमा सवार सबै जना झारखण्डतर्फ जाँदै थिए। यसै क्रममा गुणसागर गाउँनजिक विपरीत दिशाबाट आइरहेको ट्रकसँग उनीहरूको गाडी सीधै ठोक्किएको थियो।
ठक्कर यति भीषण थियो कि स्कर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भयो र त्यसमा सवार व्यक्तिहरूले सम्हालिने मौका समेत पाएनन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ छेउछाउका गाउँलेहरू घटनास्थलमा पुगे। स्थानीय बासिन्दाले पुलिसलाई घटनाबारे जानकारी गराएपछि तेतरहाट थानाको पुलिस टोली घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्य शुरु गरे। गाडीभित्र फसेका घाइतेहरूलाई बाहिर निकाल्न निकै कठिनाइ भएको थियो। त्यसपछि चारै जना घाइतेलाई एम्बुलेन्समार्फत लखीसराय सदर अस्पताल पुर्याइयो।
अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। उनीहरू चारै जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेमध्ये एक बालक पनि रहेका छन्। दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको शव पनि सदर अस्पताल ल्याइएको छ। यस घटनापछि पीडित परिवारमा शोक छाएको छ।
तेतरहाट थानाका प्रभारी इलु उपाध्यायले स्कर्पियोमा सवार सबै जना मोतिहारीबाट देवघर जाँदै गरेको जानकारी दिएका छन्। यसै क्रममा विपरीत दिशाबाट आइरहेको मालवाहक ट्रकसँग उनीहरूको गाडी ठोक्किएको उनले बताए। दुर्घटनामा पाँच जनाको मृत्यु भएको र चार जना घाइते भएको पुष्टि गर्दै उनले मृतक तथा घाइतेहरूको नाम र ठेगाना भने खुल्न बाँकी रहेको जानकारी दिए।
हिन्दुस्थान समाचार / भवानी थामी