तिब्बत सीमावर्ती नेपाली क्षेत्रमा ५.६ तीव्रताको भूकम्प, सिक्किममा पनि धक्का महसुस
प्रतीकात्मक तस्वीर


काठमाडौँ, २४ नोभेम्बर (हि.स.)। नेपालको पूर्वी सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको प्रभाव सिक्किममा पनि परेको छ। रिक्टर स्केलमा ५.६ तीव्रता मापन गरिएको भूकम्प बिहान ७ बजेर १७ मिनेटमा गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु नेपालको ताप्लेजुङ जिल्लास्थित ओलाङचुङ गोलानजिक रहेको थियो। उक्त क्षेत्र तिब्बतको सीमासँग जोडिएको छ।

केन्द्रका भूकम्पविद् राजेश शर्माले कोशी प्रदेशका केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको जानकारी दिएका छन्। यद्यपि, भूकम्पका कारण कुनै किसिमको जनधनको क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु भारतको सिक्किम राज्यबाट करिब ६७ किलोमिटर टाढा रहेको थियो। भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको पनि सर्वेक्षणले जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande