
तिरुवन्नामलई (तमिलनाडु), २४ नोभेम्बर (हि.स.)। तिरुवन्नामलईस्थित अन्नामलैयार मन्दिरमा कार्तिक दीपम् उत्सवको परम्पराअनुसार आज बिहान सबेरै भरणी दीपम् भव्य रूपमा प्रज्वलित गरिएको छ। रातभरि विशेष पूजा तथा यज्ञ सम्पन्न भएपछि बिहान करिब ३ः१५ बजी भरणी नक्षत्रको उदयसँगै दीप प्रज्वलन गरिएको हो। त्यसपछि उक्त दीपलाई मन्दिर परिसरका विभिन्न भागमा परिक्रमा गराइएको थियो।
यस अवसरमा ‘अरोहरा’ को जयघोषले सम्पूर्ण आकाश गुञ्जायमान बनेको थियो। कार्यक्रममा हिन्दू धार्मिक तथा धर्मार्थ बन्दोबस्ती विभागका मन्त्री रमेश, अभिनेता श्रीमनलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आज साँझ ठीक ६ बजी २ हजार ६६८ फिट अग्लो अन्नामलाई पर्वतको शिखरमा महादीपम् प्रज्वलन गरिनेछ।
कार्तिक दीपम् पर्वका दिन बिहान भरणी नक्षत्र उदय हुने समयमा प्रज्वलित गरिने भएकाले यसलाई भरणी दीपम् भनिन्छ। अन्नामलैयारको मूल गर्भगृहबाट ल्याइएको पवित्र ज्योतिबाट पाँचवटा दीप प्रज्वलित गरी मन्दिरका सबै प्राङ्गणमा लगिएको थियो।
धार्मिक मान्यताअनुसार, भगवानको ज्योतिमा पञ्चभूत अर्थात् पृथ्वी, जल, अग्नि, वायु र आकाशको समावेश रहेको हुन्छ। यही मान्यतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्न पाँचवटा दीप प्रज्वलित गरिने परम्परा छ। साथै, साँझ पर्वतको शिखरमा प्रज्वलित गरिने महादीपम्का लागि भरणी दीपम्लाई महत्त्वपूर्ण प्रारम्भका रूपमा लिइन्छ।
यस वर्ष दीपम् उत्सवमा श्रद्धालुको प्रवेश व्यवस्थामा परिवर्तन गरिएको छ। श्रद्धालुहरूका लागि निःशुल्क अनलाइन दर्ताको व्यवस्था गरिएको थियो। गत वर्ष ३ हजारदेखि ५ हजारसम्म श्रद्धालुलाई शुल्क बुझाएर रसिद तथा टिकटमार्फत प्रवेश दिइएको थियो। तर यसपटक अनलाइन दर्ता गराउनेहरूमध्ये चिठ्ठा प्रणालीबाट छनोट गरिएका करिब ३ हजार श्रद्धालुलाई मात्र मन्दिरभित्र प्रवेशको अनुमति दिइएको छ।
आज दिनभर मन्दिरमा यज्ञ तथा विशेष पूजाआराधना सञ्चालन हुनेछ। साँझ ६ बजी अन्नामलाई पर्वतको शिखरमा महादीपम् प्रज्वलन गर्ने तयारी तीव्र पारिएको छ। बिहान प्रज्वलित भरणी दीपम्को ज्योतिबाटै साँझ पर्वतको शिखरमा महादीपम् बालिने भएकाले श्रद्धालुहरूले भरणी दीपम्लाई महादीपम् उत्सवको सबैभन्दा महत्त्वपूर्ण प्रारम्भिक चरणका रूपमा लिने गरेका छन्।
यस भव्य धार्मिक दृश्यको अवलोकन गर्न तमिलनाडुका विभिन्न स्थानका साथै अन्य राज्यहरूबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालुहरू तिरुवन्नामलई पुगेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी