
कोलकाता, 25 नोभेम्बर (हि.स.)। सरकारी विद्यालयलाई बेचेर पैसा हड़पेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेसका एकजना पार्षदविरुद्ध स्थानीय मानिसहरूले केष्टोपुरमा विरोध प्रदर्शन गरे। बुधवार केष्टोपुरस्थित बिधाननगर नगरनिगमको वार्ड नम्बर 17 मा उक्त घटनालाई लिएर तनाउ व्याप्त भएको देखियो। तथापि विरोध प्रदर्शन अवधि सम्बन्धित पार्षद भने अनुपस्थित थिए।
स्थानीयहरूको आरोप छ, करिब 1 वर्षअघि यस क्षेत्रको एउटा आँगनवाडी विद्यालयमा अचानक आगलागी भएको थियो। त्यसबेलादेखि नै विद्यालय भवन जीर्ण अवस्थामा थियो। तृणमूलका काउन्सिलर आशुतोष नन्दीले त्यै स्कूल अर्को व्यक्तिलाई बेचेको आरोप लगाइएको छ। अहिले स्कूलका बाल-बालिकाहरूलाई एउटा जीर्ण-शीर्ण क्लबमा पढ़ाइरहेका छन्। यसबाट आमा-बुवा र स्थानीयहरू आफ्ना छोरा-छोरीहरूको सुरक्षालाई लिएर चिन्तित भएका छन्।
स्थानीय मानिसहरूको दाबी छ, विद्यालयको पुरानो जग्गामा अहिले कार्यालय निर्माण गरिएको छ। काउन्सिलरले विद्यालय बेचेको व्यक्तिले नै त्यहाँ कार्यालय स्थापना गरेको आरोप लगाइएको छ। बुधवार स्थानीयहरूले सोही कार्यालय अगाडि विरोध गरेर काउन्सिलरको विरोधमा नाराबाजी गरे।
एकजना स्थानीय बासिन्दाले आरोप लगाए, यस क्षेत्रका अधिकांश मानिसहरू गरीब परिवारका छन्। बाल-बालिकाहरूलाई शिक्षा प्रदान गर्नको लागि पहिला यहाँ विद्यालय थियो। आगलागी भएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको थियो, तर पछि काउन्सिलर आशुतोष नन्दीले उक्त विद्यालयलाई बेचिदिए। विद्यालय 10 देखि 15 लाखमा बिक्री भएको कुरा प्रकाशमा आएको उनले दाबी गरे।
बाल-बालिकाहरूको सुरक्षालाई ध्यानमा राख्दै पुरानो स्थानमा विद्यालय पुनः शुरु गर्न स्थानीयहरूले माग गरेका छन्। हाल पार्षदको पक्षबाट यस सम्बन्धमा कुनै प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा