
इटानगर, 25 नोभेम्बर (हि.स.)। अरुणाचल प्रदेशका सुदूरवर्ती क्षेत्रहरूको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्था बुझ्ने उद्देश्यले सात दिवसीय मिडिया एक्सपोजर टूर शुरु गरिएको छ। पत्रकारहरूको टोलीलाई बुधवार अरुणाचल प्रेस क्लबमा सूचना तथा जनसम्पर्क विभाग (आईपीआर)- का निर्देशक गिजुम ताली एवं अरुणाचल प्रेस क्लबका अध्यक्ष अमर साङ्गनोले हरियो झण्डी देखाएर प्रस्थान गराए।
सूचना तथा जनसम्पर्क विभागको सहकार्यमा अरुणाचल प्रेस क्लबद्वारा आयोजित यस सात दिने भ्रमणको मुख्य उद्देश्य शि-योमी जिल्लाका दुर्गम गाउँहरूको वास्तविक अवस्था, त्यहाँ भएका विकास गतिविधि एवं स्थानीय जनताको समस्यालाई नजिकबाट बुझ्नु हो।
मिडिया भ्रमणमा अरुणाचल प्रदेशका 9 जना पत्रकारहरू सामेल छन्। तीमध्ये 6 जना महिला र 3 जना पुरुष पत्रकारहरू छन्। टोलीको नेतृत्व अरुणाचल प्रदेश यूनियन अफ वर्किङ्ग जर्नालिस्टकी महासचिव सोनम जेली र अरुणाचल प्रेस क्लबका कोषाध्यक्ष टागु निङ्गीले गरेका छन्। पत्रकारको टोली स्थानीय अवस्थाको समीक्षा गर्न जिल्लाका विभिन्न दुर्गम क्षेत्रहरूमा सात दिनसम्म बस्ने छ।
मिडिया टीमले शि-योमी जिल्लाको मोनिगोङ्ग र मेचुखा क्षेत्रका दुर्गम गाउँहरूको भ्रमण गर्नेछ। यस अवधि पत्रकारहरूले स्थानीय बासिन्दाहरूसँग उनीहरूको जीवन, सामाजिक तथा आर्थिक अवस्था, विकास कार्य अनि दैनिक चुनौतीहरूको बारेमा बुझ्न अन्तरक्रिया गर्नेछ। यसको साथै यस क्षेत्रको समृद्ध सांस्कृतिक सम्पदा, स्थानीय परम्परा र स्थानीय समुदायको जीवनशैलीबारे पनि नजिकबाट जानकारी लिनेछ। यी दुर्गम क्षेत्रहरूको वास्तविक तस्वीर मिडियाका माध्यमबाट बाहिर ल्याउने पत्रकारहरूको प्रयास हुनेछ।
पत्रकारहरूको टोलीलाई हरियो झण्डी देखाउँदै, आईपीआरका निर्देशक गिजुम ताली र अरुणाचल प्रेस क्लबका अध्यक्ष अमर साङ्गनोले सबै सदस्यहरूलाई शुभकामना दिए। यस्ता मिडिया एक्सपोजर टूरले सुुदूरवर्ती क्षेत्रहरूका समस्या र सम्भावनालाई व्यापक स्तरमा ल्याउन मद्दत गर्ने उनीहरूले बताए।
उनीहरूले पत्रकारहरूलाई भ्रमणको पूर्ण फाइदा उठाउन तथा गाउँको धरातलीय वास्तविकतालाई निष्पक्ष रूपमा प्रस्तुत गर्न अपील गरे। साथै स्थानीय समस्याहरू, विकास कार्यमा भएका कमजोरीहरू अनि आम जनताका अपेक्षाहरू पनि उजागर गर्ने आग्रह गरे।
अधिकारीहरूले पत्रकारहरूलाई यस क्षेत्रका आदिवासीहरूको आकाङ्क्षा, चुनौती र विकासका आवश्यकताहरू विश्वसामु ल्याउन आग्रह गरे। उनीहरूले जिम्मेवार र रचनात्मक रिपोर्टिङ्गमाथि विशेष जोड दिए।
--------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा