
डिब्रुगढ (असम), २५ नोभेम्बर (हि.स.)। असमको दुलियाजानमा भुइयाँ परिवारका तीन सदस्यको हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका राजु दास र अमिर दास पुलिस कारबाहीमा गम्भीर घाइते भएका छन्। पुलिस हिरासतबाट भाग्ने प्रयास गरेपछि मङ्गलबार राति पुलिसले चलाएको गोली लागेर दुवै घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि डिब्रुगढस्थित असम मेडिकल कलेज तथा अस्पताल (एएमसीएच) मा भर्ना गरिएको छ।
पुलिसका अनुसार, हत्याकाण्डमा प्रयोग गरिएको मुख्य हतियार हथौडा बरामद गर्न सञ्चालन गरिएको अभियानका क्रममा दुवै आरोपीले हिरासतबाट भाग्ने प्रयास गरेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन पुलिसले चार राउन्ड गोली चलाउनुपरेको थियो।
डिब्रुगढका अतिरिक्त पुलिस अधीक्षक निर्मल घोषले हत्यामा प्रयोग गरिएको मुख्य हतियारको खोजीका लागि पुलिस टोलीले दुवै आरोपीलाई साथमा लिएर दुलियाजानको बालिजान चिया बगानअन्तर्गत सहिलाबाडी क्षेत्रमा पुगेको जानकारी दिएका छन्।
पुलिसका अनुसार, राति करिब ११ बजी दुवै आरोपीले अचानक पुलिस जवान मनोज लाहन र नितुल कोंवरमाथि आक्रमण गरे। त्यसपछि अन्धकारको फाइदा उठाउँदै हिरासतबाट भाग्ने प्रयास गरेका थिए। उनीहरूलाई रोक्न पुलिसले चार राउन्ड गोली चलायो। गोली लागेर दुवै आरोपीका खुट्टामा गम्भीर चोट लागेको बताइएको छ।
घटनामा घाइते भएका पुलिस जवान मनोज लाहन र नितुल कोंवरलाई उपचारका लागि दुलियाजानस्थित आयल इन्डियाको अस्पतालमा भर्ना गरिएको छ। यस कारबाहीपछि हत्याकाण्डमा प्रयोग गरिएको मुख्य हतियार बरामद गर्ने तथा घटनाको थप अनुसन्धान गर्ने पुलिस अभियान जारी रहेको बताइएको छ।
उल्लेखनीय छ, गत १६ नोभेम्बरमा दुलियाजानको कमलाबारीस्थित एक आवासबाट एउटै परिवारका तीन सदस्यको शव बरामद भएको थियो। मृतकहरूमा आयल इन्डियाका अवकाशप्राप्त कर्मचारी चन्द्रकान्त भुइयाँ, उनकी पत्नी एलिजा भुइयाँ र छोरी निहारिका भुइयाँ रहेका छन्।
जॉंचमा खुलेका मुख्य तथ्य
पुलिसका अनुसार, यस हत्याकाण्डका मुख्य आरोपी राजु दास विगत करिब सात वर्षदेखि उक्त परिवारको घरमा भाडामा बस्दै आएका थिए। उनीमाथि अनलाइन खेल तथा सट्टेबाजीका कारण करिब चार लाख रुपियाँ ऋण लागेको थियो। उक्त ऋण चुक्ता गर्न लुटपाट र हत्याको योजना बनाइएको पुलिस जॉंचबाट खुलेको बताइएको छ।
गत १७ नोभेम्बरमा दुवै आरोपीलाई सिमलुगुडी रेलवे स्टेसननजिक अवध असम एक्सप्रेसबाट भाग्ने प्रयास गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। उनीहरूको साथबाट नगद, करिब २ लाख ५० हजार रुपियाँ मूल्यका सुनचाँदीका गरगहना तथा तीनवटा मोबाइल फोन बरामद गरिएको थियो।
जॉंचका क्रममा एक युवतीको संलग्नतामाथि पनि पुलिसले शङ्का व्यक्त गरेको छ। ती युवतीले कथित रूपमा आरोपीहरूलाई तिनसुकिया पुर्याउन, होटलमा बस्ने व्यवस्था मिलाउन तथा फरार हुन सहयोग गरेको आशङ्का गरिएको छ।
पुलिसको विवरणअनुसार, डिब्रुगढ पुलिस टोलीले दुवै आरोपीलाई लिएर थप जॉंचका लागि तिनसुकियास्थित प्राइमल्याण्ड होटलमा समेत पुगेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी