
गान्तोक, 25 नोभेम्बर (हि.स.)। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङकी श्रद्धेय माता श्रीमती धनमाया तामाङको २५ नोभेम्बर २०२६, बुधवार, सिलगढीस्थित अस्पतालमा उपचारका क्रममा ८७ वर्षको उमेरमा निधन भएको छ। यस दुख:द् खबरले नेपाली साहित्य परिषद् सिक्किम स्तब्ध बनेको बताउॅंदै यस दुःखद घडीमा परिषद्ले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ।
नेपाली साहित्य परिषदले मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा शोकसन्तप्त परिवारजनप्रति परिषद् हार्दिक समवेदना व्यक्त गरेको छ। परिषदका महासचिव भीम राउतले आज जारी शोक सन्देशमा भने, 'श्रीमती तामाङ लामो समयदेखि अस्वस्थ रहनुभएको थियो। आमाको निधन सम्माननीय मुख्यमन्त्री तथा उहाँको परिवारका लागि अपूरणीय क्षति र अत्यन्त पीडादायी क्षण हो। यस दुःखद घडीमा सिक्किमको सम्पूर्ण साहित्य एवम् कलाधर्मीहरू मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ तथा शोकाकुल परिवारसँग गहिरो ऐक्यबद्धता प्रकट गर्दछ।'
नेपाली साहित्य परिषद् सिक्किमले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त मुख्यमन्त्री तथा परिवारजनलाई यस असह्य दुःख सहन गर्ने शक्ति, धैर्य र साहस प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल