
- २२ खेलाडीसहित २८ सदस्यीय टोली गुवाहाटी प्रस्थान गर्दै, ६ विधामा प्रतिस्पर्धा गर्ने
गान्तोक, २५ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूर्वोत्तर पाराखेलकुद प्रतियोगिता २०२६ मा सहभागी हुन गइरहेको राज्यको टोलीसँग आज भेटघाट गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत साझा गरेको जानकारीअनुसार, सिक्किमको टोलीमा २२ खेलाडी, दुई अधिकारी र चार सहयोगी कर्मचारी गरी जम्मा २८ जना सदस्य रहेका छन्। टोलीको नेतृत्व विभागीय सचिवले गरिरहेका छन् भने खेलकुद तथा युवा मामिला विभागका निर्देशक पनि टोलीसँगै रहनेछन्।
आगामी २६ देखि २९ नोभेम्बरसम्म असमको गुवाहाटीमा आयोजना हुने प्रतियोगितामा सिक्किमका खेलाडीहरूले टेबल टेनिस, ब्याडमिन्टन, चेस, क्लब थ्रो, स्वीमिङ तथा एथलेटिक्स गरी छवटा खेल विधामा प्रतिस्पर्धा गर्नेछन्।
मुख्यमन्त्री तामाङले खेलाडीहरूको बढ्दो उत्साह, अनुशासन र दृढ सङ्कल्पले राज्यका लागि आशा र प्रेरणाको स्रोतका रूपमा काम गरिरहेको बताएका छन्। उनले सिक्किमका जनताका तर्फबाट खेलाडीहरूलाई पूर्ण साथ र समर्थन रहेको उल्लेख गर्दै उनीहरूको सफलता, सुस्वास्थ्य तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरेका छन्।
उनले खेलाडीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै नयाँ उपलब्धि हासिल गर्न तथा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न प्रोत्साहित गरेका छन्। साथै, खेलाडीहरूलाई हरेक पाइलामा माया, हेरचाह र सहयोग प्रदान गर्दै उनीहरूको यात्रामा साथ दिनुपर्नेमा जोड दिएका छन्।
यस अवसरमा मुख्यमन्त्रीले खेलाडीहरूको प्रतिभा पहिचान, विकास, मार्गदर्शन तथा सशक्तीकरणका लागि निरन्तर प्रयास गरिरहेको खेलकुद तथा युवा मामिला विभागको पनि प्रशंसा गरेका छन्। उनले सिक्किमको टोली प्रतियोगिताबाट गौरव, सफलता र भावी पुस्ताका लागि प्रेरणा लिएर फर्किने विश्वास व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल