
गान्तोक, 25 नोभेम्बर (हि.स.)। वर्णमाला परिवारले विगतका वर्षहरू जस्तै यस वर्ष पनि हिमालय जनजाति गायन प्रतियोगिता आयोजना गर्ने भएको छ। सिलगढीमा 5, 6 अनि 7 जनवरी, 2027 मा आयोजना गरिने लोक महोत्सव 2026 अन्तर्गत उक्त गायन प्रतियोगिता सम्पन्न गरिने छ। महोत्सव आयोजकले उक्त गायन प्रतियोगितामा इच्छुक सबैलाई सहभागी भइदिन आह्वान गरेको छ।
वर्णमाला परिवारका संस्थापक देवाशिष मोथेले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी गराए। उनले बताएअनुसार, संस्थाले मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा लोक महोत्सव आयोजना गर्दै आएको छ। हिमालय जनजाति गायन प्रतियोगिता 2026 का लागि प्रवेश शुरू भइसकेको छ। उनले सिक्किमका सबै जनजाति समुदायका कलाकारहरूलाई यस प्रतियोगितामा भाग लिन आह्वान गरे।
उनले स्वदेशी भाषाका कलाकारहरूलाई मंच उपलब्ध गराउने उद्देश्यका साथ यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए। उनले गत वर्ष भारतलगायत भुटान र नेपालबाट 400 भन्दा धेरै जनजाति कलाकारहरूले प्रतियोगितामा सहभागिता जनाएको बताए। उनले एकातिर जनजाति समुदायहरूका भाषा, सङ्गीत, संस्कार र संस्कृतिहरू आज विलुप्त हुने स्थिति छन् भने अर्कातिर पश्चिमी संस्कृतिको प्रभावले थप संकट निम्त्याइरहेको बताए।
उनले जनजाति समुदायहरू आफ्ना भाषा, सङ्गीत, संस्कार र संस्कृतिका हिसाबले धेरै समृद्ध रहे तापनि यसको महत्व बुझ्न नसकिरहेको आसय व्यक्त गरे। वर्णमाला परिवारका फेसबुक र इन्स्टाग्राम अकाउन्टको माध्यमद्वारा प्रतियोगिताको बारेमा थप जानकारी प्राप्त गर्न सकिने बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल