मल्लिकबजारः कपड़ा गोदाममा आगलागी, घटनास्थलमा पाँच वटा दमकल वाहन
सांकेतिक


कोलकाता, 25 नोभेम्बर (हि.स.)। कोलकातामा फेरि एक पटक आगलागीको घटना भएको छ। बुधवार मल्लिकबजार क्षेत्रमा रहेको कपड़ा गोदाममा आगलागी भयो। आगोलाई नियन्त्रण गर्न घटनास्थलमा 5 वटा दमकल वाहनलाई पठाइएको छ। घना जनसङ्ख्या भएको क्षेत्रमा आगो निभाउन अग्निशमन कर्मीहरूलाई निकै कठिनाइ भइरहेको छ।

जानकारी अनुसार 35, एजन्सी बोस रोडस्थित एउटा घरमा गोदाम थियो। बुधवार दिउँसो त्यहाँ अचानक आगलागी भयो। गोदाममा प्रचुर मात्रामा कपड़ा राखिएको कारण आगो द्रुत गतिमा फैलियो। आगो देखेपछि मानिसहरूले पहिला आफूलाई बचाउने प्रयास गरे, त्यसपछि मात्र फायर ब्रिगेडलाई सूचित गरे। सूचना पाएपछि अग्निशमन कर्मचारीहरूले घटनास्थलमा पुगेर आगो निभाउने प्रयास शुरु गरे। धेरै प्रयासपछि आगोलाई केही हदसम्म नियन्त्रणमा ल्याइएको छ, तर यो समाचार लेखुञ्जेलसम्म आगो पूर्ण रूपमा निभाइएको थिएन।

आगलागीको कारण अहिले थाहा हुन सकेको छैन। दमकल अधिकारीहरूका अनुसार आगो पूर्ण रूपमा निभाएपछि घटनाको कारणबारे अनुसन्धान गरिनेछ। गोदाममा पर्याप्त अग्नि नियन्त्रण प्रणाली छ कि छैन भन्नेबारे पनि अनुसन्धान हुनेछ। अहिलेसम्ममा घटनामा कुनै पनि प्रकारको जनहानि भएक खबर प्राप्त भएको छैन।

उल्लेखनीय छ, गत हप्ता पनि कोलकाताका दुई फरक क्षेत्रमा एकपछि अर्को आगलागीका घटनाहरू भएका थिए। नोभेम्बर 19 मा पाम एभेन्यु क्षेत्रको झुपड़ीमा आगलागी भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande