
गान्तोक, २८ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज गान्तोकमा आयोजित उत्तरपूर्व जनजातीय खाद्य तथा शिल्प महोत्सवमा सहभागिता जनाउँदै महोत्सवमा राखिएका विभिन्न प्रदर्शनी कक्षहरूको अवलोकन गरे।
भगवान बिरसा मुण्डाको १५१औँ जन्मजयन्तीका अवसरमा ‘जनजातीय गौरव वर्ष’ अन्तर्गत जनजातीय कार्य मन्त्रालयको मातहतमा सामाजिक कल्याण विभाग, सिक्किमद्वारा उक्त महोत्सवको आयोजना गरिएको हो।
यस अवसरमा राज्यपाल गौतमले पूर्वोत्तर भारतका आठवटै राज्यका प्रतिनिधिहरूद्वारा स्थापित विभिन्न प्रदर्शनी कक्षहरूको निरीक्षण गरे। उनले विभिन्न राज्यका परम्परागत हस्तकला, जनजातीय कला, स्थानीय उत्पादन तथा परम्परागत परिकारहरूको अवलोकन गर्दै तिनको विशिष्टता, विविधता र समृद्ध सांस्कृतिक विरासतको प्रशंसा गरे।
राज्यपालले पूर्वोत्तर राज्यहरूको जनजातीय परम्परा, खानपान, कला तथा हस्तकलालाई भारतको सांस्कृतिक विविधताको महत्त्वपूर्ण हिस्सा बताउँदै यस्ता आयोजनाले देशको समृद्ध जनजातीय विरासतलाई पहिचान र प्रोत्साहन प्रदान गर्नुका साथै विभिन्न राज्यबीच सांस्कृतिक आदानप्रदानलाई समेत बढावा दिने बताए।यस्ता कार्यक्रमले ‘एक भारत श्रेष्ठ भारत’ को परिकल्पनालाई साकार पार्दै भारतीय संस्कृतिलाई थप समृद्ध बनाउने उनको भनाइ थियो।यस अवसरमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजे, गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाका साथै सामाजिक कल्याण विभागका अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल