राज्यपाल गौतमले स्वर्ण जयन्ती मैत्रेय मञ्जरी अर्किडेरियमको भ्रमण गरे, जैवविविधता संरक्षण प्रयासको गरे प्रशंसा
राज्यपाल दुष्यन्त गौतम


गान्तोक, २८ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज गान्तोकस्थित रिज पार्कमा रहेको स्वर्ण जयन्ती मैत्रेय मञ्जरी परिसरमा स्थापित अत्याधुनिक अर्किडेरियमको भ्रमण गरे। अर्किडेरियममा शहरी विकास विभागका आयुक्त एवं सचिव तथा राज्यपालका सचिव जितेन्द्र सिंह राजेले उनको स्वागत गरे। यस अवसरमा गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया पनि उपस्थित थिइन्।

राज्यपालले त्यहाँ संरक्षण गरेर राखिएका दुर्लभ तथा स्थानीय अर्किड प्रजातिहरूको अवलोकन गर्दै सिक्किमको समृद्ध पुष्प सम्पदा र जैवविविधताको संरक्षण एवं संवर्द्धनका लागि भइरहेका प्रयासहरूको प्रशंसा गरे। उनले सिक्किम प्राकृतिक सम्पदा र दुर्लभ वनस्पतिका दृष्टिले देशकै विशिष्ट राज्यहरूमध्ये एक रहेको बताउँदै यहाँको जैवविविधता राज्यको प्राकृतिक पहिचान मात्र नभई राष्ट्रकै पर्यावरणीय धरोहर भएको उल्लेख गरे। उनले विशेषगरी दुर्लभ अर्किड प्रजातिहरूको संरक्षण, वैज्ञानिक अध्ययन तथा संवर्द्धनलाई महत्त्वपूर्ण बताए।

भ्रमणका क्रममा गान्तोक नगर निगमका आयुक्त ग्यादेन छोपेल भोटियाले अर्किडेरियमको स्थापना, वास्तुकला, आधुनिक सुविधाहरू तथा सञ्चालन व्यवस्थाबारे राज्यपाललाई विस्तृत जानकारी गराए। उनले नियन्त्रित जलवायु तथा तापक्रम प्रणालीबाट सञ्चालन हुने यस अत्याधुनिक कूल हाउस अर्किडेरियममा विभिन्न प्रजातिका अर्किडका लागि अनुकूल वातावरण तयार गरिएको जानकारी दिए। यसले दुर्लभ तथा संवेदनशील अर्किड प्रजातिहरूको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउने बताइएको छ।

यसैगरी, पाकिमस्थित आईसीएआर-राष्ट्रिय अर्किड अनुसन्धान केन्द्रका निर्देशक डा. दासले त्यहाँ संरक्षित विभिन्न स्थानीय तथा दुर्लभ अर्किड प्रजातिहरूका विशेषता र तिनको वैज्ञानिक संरक्षण, अनुसन्धान एवं संवर्द्धनसम्बन्धी गतिविधिबारे जानकारी गराए।

भ्रमणपछि आफ्नो अनुभव साझा गर्दै राज्यपाल गौतमले यस केन्द्रमा प्रकृतिको अद्भुत सुन्दरता र दुर्लभ जैवविविधतालाई नजिकबाट अवलोकन गर्ने सुखद अवसर प्राप्त भएको बताए। उनले दुर्लभ अर्किड प्रजातिहरूको संरक्षण वनस्पतिहरूलाई सुरक्षित राख्ने कार्यमा मात्र सीमित नरही भावी पुस्ताका लागि प्राकृतिक विरासत जोगाउने महत्त्वपूर्ण पहलसमेत भएको उल्लेख गरे।

उनले केन्द्रको निर्माण, सञ्चालन, रखरखाव तथा संरक्षण कार्यमा संलग्न अधिकारी, वैज्ञानिक र कर्मचारीहरूको समर्पणको प्रशंसा गर्दै उनीहरूलाई बधाई दिए। उनले यस्ता संस्थानहरूले पर्यावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै वैज्ञानिक अनुसन्धान र प्रकृतिमा आधारित पर्यटनलाई समेत प्रोत्साहन गर्ने बताए।

राज्यपालले अर्किडेरियमलाई देश तथा विदेशबाट आउने पर्यटकका लागि प्रमुख आकर्षण केन्द्रका रूपमा विकास गर्न विभिन्न महत्त्वपूर्ण सुझाउसमेत दिए। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका विचार र दिएको मार्गदर्शनलाई अघि बढाउँदै यस केन्द्रको व्यापक प्रचारप्रसारमा विशेष जोड दिए। योजनाबद्ध प्रचारप्रसार र पर्यटन पूर्वाधारको विकासमार्फत अर्किडेरियमलाई राज्यको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो।

उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदीले २८ अप्रेल, २०२६ मा आफ्नो सिक्किम भ्रमणका क्रममा यस अर्किडेरियमको अवलोकन गरेका थिए। त्यस अवसरमा उनले यसको सुन्दरता तथा सिक्किमको समृद्ध जैविक विविधताको प्रशंसा गर्दै प्रकृति संरक्षण र दिगो जीवनशैलीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande