
नयाँ दिल्ली, २८ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, रक्षामन्त्री राजनाथ सिंहसहित विभिन्न नेताहरूले शनिबार समाज सुधारक महात्मा ज्योतिराव फुलेको पुण्यतिथिका अवसरमा उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
उपराष्ट्रपति राधाकृष्णनले महात्मा फुलेको सम्पूर्ण जीवन सामाजिक समानता, न्याय र शिक्षाका लागि समर्पित रहेको बताए। महिला शिक्षाका अग्रदूत तथा वञ्चित वर्गको अधिकारका लागि निरन्तर सङ्घर्ष गर्ने फुलेको समावेशी र समतामूलक समाज निर्माण गर्ने दृढ सङ्कल्पले आज पनि पुस्तौँलाई प्रेरित गरिरहेको उनले उल्लेख गरे। उनले न्यायपूर्ण र प्रगतिशील भारत निर्माणको सामूहिक यात्रामा उनका आदर्शले मार्गदर्शन गरिरहेको पनि बताए।
लोकसभा अध्यक्ष ओम बिरलाले ज्योतिराव फुलेले आफ्नो सम्पूर्ण जीवन सामाजिक समानता, शिक्षा र मानवीय गरिमाका लागि समर्पित गरेको बताए। उनले जातीय विभेद, छुवाछूत, अशिक्षा तथा लैङ्गिक असमानताजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाएको उल्लेख गरे। सावित्रीबाई फुलेसँग मिलेर १८४८ मा पुणेमा बालिकाहरूका लागि विद्यालय स्थापना गर्नु वञ्चित वर्गसम्म शिक्षा पुर्याउने दिशामा ऐतिहासिक प्रयास रहेको उनले बताए। उनले शिक्षा अज्ञानता, अन्याय र सामाजिक असमानताको अन्धकार हटाउने प्रकाश हो भन्ने फुलेको विश्वास रहेको उल्लेख गर्दै उनका आदर्शलाई जीवनमा आत्मसात् गर्नु नै सच्चा श्रद्धाञ्जली हुने बताए।
केन्द्रिय रक्षामन्त्री राजनाथ सिंहले ज्योतिराव फुलेले आफ्नो जीवन समानता, शिक्षा र सामाजिक सद्भावका लागि समर्पित गरेको बताए। समाजबाट विभेद हटाउन तथा महिला शिक्षालाई प्रोत्साहन गर्न उनले गरेका प्रयासले भारतीय समाजमा नयाँ चेतना जगाएको उल्लेख गर्दै उनका विचार र समाज सुधारका प्रयासले भावी पुस्तालाई निरन्तर प्रेरित गरिरहने बताए।
केन्द्रिय गृहमन्त्री एवं सहकारितामन्त्री अमित शाहले सामाजिक परिवर्तन र प्रगतिको सबैभन्दा सशक्त माध्यम शिक्षा हो भन्ने दृढ विश्वास महात्मा फुलेमा रहेको बताए। बालिकाहरूका लागि विद्यालय स्थापना गरेर उनले महिला शिक्षाको बलियो जग बसालेको तथा ‘सत्यशोधक समाज’ स्थापना गरी सद्भाव र समानताको मार्ग देखाएको उनले उल्लेख गरे। उनले फुलेको जीवन र विचार प्रत्येक पुस्ताका लागि प्रेरणाको निरन्तर स्रोत बनेको पनि बताए।
संसदीय तथा अल्पसङ्ख्यक मामिलामन्त्री किरेन रिजिजूले शिक्षा विस्तार, महिला सशक्तीकरण, सामाजिक न्यायको प्रवर्द्धन तथा वञ्चित समुदायको उत्थानमा समर्पित महात्मा फुलेको जीवन र विचारले सबैलाई सामाजिक कुरीति तथा विभेदविरुद्ध सङ्घर्ष गर्न प्रेरित गरिरहेको बताए। साथै समानता, शिक्षा र सद्भावको मार्गमा अघि बढ्न उनका आदर्शले प्रेरणा दिइरहेको उनले उल्लेख गरे।
केन्द्रिय कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहानले महिला गरिमा, शिक्षा र सामाजिक समानताका लागि समर्पित महात्मा फुलेको जीवन देशका लागि सदैव प्रेरणाको स्रोत बनिरहने बताए।
हिन्दुस्थान समाचार / भवानी थामी