
खरसाङ, 28 नोभेम्बर (हि.स.)। खरसाङ नगरपालिका क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको छ, जसको उदघाटन शनिवार खरसाङका विधायक सोनाम लामा र महकुमा शासक पेमा शेर्पाको बाहुलीबाट गरिएको छ।
खरसाङ नगरपालिकामा हालमा मैला व्यवस्थापनको लागि तीनवटा गाडी भए पनि शहरको मैलाहरु व्यवस्थापनको लागि धेरै असुविधा भइरहेको कारणले थप दुईवटा गाडीहरु शुरु गरिएको हो। गाडीको संख्या अब पाँचवटा पुगेकाले खरसाङ नगरपालिकाको फोहोर मैला व्यवस्थापनमा सजिलो हुने अपेक्षा गएको छ।
उक्त दुईवटा गाडीहरुको शुभारम्भ आज विधिपूर्वक गरियो। उक्त कार्यक्रममा खरसाङ नगरपालिकाका निर्मल बन्धु कर्मचारीहरुलाई मैला व्यवस्थापनको लागि ड्रेसहरु र सामाग्रीहरू पनि वितरण गरियो।
कार्यक्रममा खरसाङ नगरपालिका अन्तर्गत हाउजिङ फर अल योजनाका लाभार्थीहरु चारजनालाई उक्त योजनाको चेक पनि वितरण गरियो। यो कार्यक्रममा खरसाङ नगरपालिकाको फाइनान्स अफिसर नोर्देन लामा, नगरपालिकाका अधिकारी गोविन्द अधिकारी, रमेश सुब्बा लगायत कर्मचारीहरु साथै भारतीय जनता पार्टीको तर्फबाट रामकृष्ण शर्मा, दिक्षा तामाङ, सञ्जय थापा साथै अन्यहरु उपस्थित रहेका थिए। विधायक सोनाम लामाले खरसाङमा लामो समयदेखि पानी र फोहोर मैला व्यवस्थापनको लागि समस्या भइरहेको बताउँदै सरकार परिवर्तन भए पनि सिस्टममा काम गर्नु पर्ने भएकाले समय लागेको स्पष्ट पारे। उनले अब खरसाङ नगरपालिका क्षेत्रमा फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको र यसमा चालक पनि राखिएको बताए।
उनले खरसाङ नगरपालिका क्षेत्रमा फोहोर मैला व्यवस्थापनको लागि टोल फ्री नम्बर जारी गरिने बताउँदै अब मैला जताभावी फ्याँक्नेहरु विरुद्ध कार्वाही गरिने बताए। विधायक लामाले खरसाङ बजारलाई स्वच्छ र सुन्दर बनाउन नगरपालिका कर्मचारीहरुको मात्र दायित्व नभएर सम्पूर्ण खरसाङका जनताको पनि दायित्व रहेको बताए।
हिन्दुस्थान समाचार / हनोक