नाम्चीमा २१औँ सिक्किम राज्यस्तरीय बक्सिङ च्याम्पियनसिप जारी
नाम्चीमा २१औँ सिक्किम राज्यस्तरीय बक्सिङ च्याम्पियनसिप जारी


नाम्ची, २८ नोभेम्बर (हि.स.)। एलिट पुरुष, एलिट महिला तथा सब-जुनियर छात्र विधा समावेश २१औँ सिक्किम राज्यस्तरीय बक्सिङ च्याम्पियनसिप २०२६ को दोस्रो दिनको प्रतियोगिता आज नाम्चीको कार प्लाजास्थित मोटर भेहिकल कार्यालयनजिक रहेको बक्सिङ हलमा जारी रह्यो। प्रतियोगितामा राज्यका विभिन्न जिल्लाबाट सहभागी बक्सरहरूले आ-आफ्नो तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन्।

तीनदिने उक्त च्याम्पियनसिप नाम्ची जिल्ला बक्सिङ सङ्घ (एनडीबीए) ले सिक्किम एमेच्योर बक्सिङ सङ्घ (एसएबीए) को सहकार्यमा आयोजना गरेको हो। यसको आयोजना नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक तथा एनडीबीएका प्रमुख संरक्षक सतीशचन्द्र राईको संरक्षणमा भइरहेको छ।

कार्यक्रममा शहरी विकास तथा खाद्य एवं नागरिक आपूर्ति विभागका मन्त्री भोजराज राई मुख्य तिथिका रूपमा उपस्थित थिए भने नाम्ची नगर परिषद्का (एनएमसी) अध्यक्ष गणेश राई विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

नाम्ची जिल्ला बक्सिङ सङ्घका अनुसार, यस च्याम्पियनसिपको उद्देश्य उदाउँदा प्रतिभाहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै, युवा तथा इच्छुक बक्सरहरूको प्रतिभा विकास गर्नुका साथै सिक्किमका जिल्लाहरूबीच खेल भावना, अनुशासन र एकतालाई प्रवर्द्धन गर्नु हो। साथै, तल्लो तहदेखि नै बक्सिङ खेलको प्रवर्द्धन र सुदृढीकरण गर्नु पनि यसको प्रमुख लक्ष्य रहेको छ।

सङ्घले राज्यमा बक्सिङ खेलको प्रवर्द्धन तथा उदाउँदा खेल प्रतिभाहरूको विकासमा निरन्तर मार्गदर्शन र सहयोग प्रदान गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा पूर्व विधायक कृष्णकुमारी राईप्रति आभार व्यक्त गरेको छ।

कार्यक्रमकै अवसरमा सङ्घले नाम्चीका पूर्व बक्सर सुखराज राईलाई बक्सिङ खेलमा उनले हासिल गरेका उल्लेखनीय उपलब्धि तथा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande