
गान्तोक, २८ नोभेम्बर (हि.स.)। रेसिथाङस्थित खेल गाउँमा २२ देखि २९ नोभेम्बर, २०२६ सम्म आयोजित साताव्यापी एनटीपीसी राष्ट्रिय वरीयता आर्चेरी प्रतियोगिताअन्तर्गत सब-जुनियर विधाका सेमिफाइनल खेलहरू आज सम्पन्न भए। प्रतियोगितामा रिकर्भ पुरुष, रिकर्भ महिला, कम्पाउन्ड पुरुष र कम्पाउन्ड महिला गरी चार विधामा प्रतिस्पर्धा भएको थियो।
रिकर्भ पुरुष विधाको सेमिफाइनलमा महाराष्ट्रका आर्यन रमेश राठोडले आफ्नै राज्यका रेयांश मनीष ठाकुरलाई ६-० ले पराजित गर्दै फाइनलमा स्थान बनाए। अर्को सेमिफाइनलमा उत्तर प्रदेशका अभिषेकले राजस्थानका मोहित वैष्णवलाई ६-४ ले हराउँदै उपाधि भिडन्तमा प्रवेश गरे।
रिकर्भ महिला विधामा चण्डीगढकी जापमान कौर भुल्लरले हरियाणाकी श्रेया दहियालाई ७-३ ले पराजित गरिन्। यसैगरी, ओडिशाकी सुनिता नायकले राजस्थानकी धृति शर्मालाई ६-२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिन्।
कम्पाउन्ड पुरुष विधामा हरियाणाका लवप्रीत सिंहले तेलङ्गानाका भुवन साकेथ कोटालाई १४९-१४५ ले पराजित गरे भने राजस्थानका राहुल मीनाले हरियाणाका शिवम रावतलाई १४७-१४२ ले हराउँदै फाइनलमा प्रवेश गरे।
यसैगरी, कम्पाउन्ड महिला विधामा हरियाणाकी एन्जेलले पश्चिम बङ्गालकी प्राप्ति बटब्याललाई १४३–१३९ ले पराजित गरिन्। झारखण्डकी सलोनी उराँवले राजस्थानकी अभिलाषा यादवलाई १४४-१४१ ले हराउँदै फाइनलमा स्थान बनाइन्।
चारवटै विधाका फाइनलमा प्रवेश गरेका खेलाडीहरूले स्वर्ण तथा रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पराजित भएका खेलाडीसहित प्रत्येक विधाका बाँकी १४ खेलाडीले तेस्रोदेखि सोह्रौँ स्थानसम्मका लागि प्रतिस्पर्धा गर्नेछन्।उल्लेखनीय छ, सब-जुनियर विधाका फाइनल खेलहरू भोलि आयोजना हुनेछन्। यससँगै साताव्यापी एनटीपीसी राष्ट्रिय वरीयता तीरन्दाजी प्रतियोगिता समापन हुनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल