
सोरेङ, २८ नोभेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङकी स्वर्गीय आमा धनमाया तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोरेङको सिङलिङस्थित मुख्यमन्त्रीको पैतृक निवासमा आज ठूलो सङ्ख्यामा शुभचिन्तकहरू भेला भए। समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूले मुख्यमन्त्रीको निवासमा पुगेर शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै यस दुःखद घडीमा परिवारलाई साथ र समर्थन जनाए।
मुख्यमन्त्रीले निवासमा श्रद्धाञ्जली अर्पण गर्न आउने शुभचिन्तकहरूसँग भेटघाट गर्दै राज्यका विभिन्न स्थानबाट आएर आफ्नी आमाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकको यस घडीमा परिवारको साथमा उभिएका सिक्किमवासीप्रति आभार व्यक्त गरे। यस गहिरो शोकको समयमा जनताबाट प्राप्त अपार माया, सहयोग र समवेदनाप्रति उनले कृतज्ञता व्यक्त गरे।
-------
हिन्दुस्थान समाचार / बिशाल