‘सिक्किम भिजन २०४७’ को तयारीसम्बन्धी चौथो कार्यकारी समितिको बैठक सम्पन्न
‘सिक्किम भिजन २०४७’ को तयारीसम्बन्धी चौथो कार्यकारी समितिको बैठक सम्पन्न


गान्तोक, २८ नोभेम्बर (हि.स.)। सिक्किमको दीर्घकालीन विकासको खाका तयार गर्ने उद्देश्यले ‘सिक्किम भिजन २०४७’ को तयारीसम्बन्धी चौथो कार्यकारी समितिको बैठक आज गान्तोकस्थित ताशीलिङ सचिवालयमा सम्पन्न भयो। बैठकको अध्यक्षता कार्यकारी समितिका अध्यक्ष तथा सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार प्रा. महेन्द्र पी. लामाले गरेका थिए।

सिक्किमका मुख्यमन्त्री तथा सिक्किम भिजन २०४७ सञ्चालन समितिका अध्यक्ष प्रेमसिंह तामाङको मार्गदर्शनमा तयार भइरहेको उक्त दस्तावेजको मस्यौदा निर्माण प्रक्रिया, कार्यढाँचा तथा भावी रणनीतिबारे छलफल गर्न बैठक आयोजना गरिएको थियो।

बैठकको प्रारम्भमा योजना तथा विकास विभागका आयुक्त एवं सचिव एमटी शेर्पाले प्रारम्भिक मन्तव्य राख्दै भिजन दस्तावेज तयार गर्ने कार्ययोजना प्रस्तुत गरे। उनले हालसम्म हासिल भएको प्रगति, सम्पन्न भएका प्रमुख चरणहरू तथा अघिल्ला कार्यकारी समिति बैठकमा भएका छलफलहरूको विवरण प्रस्तुत गर्दै राज्यको दीर्घकालीन विकास दृष्टिकोण निर्माणका लागि भइरहेको कार्यबारे जानकारी गराए।

यसपछि योजना तथा विकास विभागका संयुक्त मुख्य कार्यकारी अधिकृत, ईईपीएफ एवं संयुक्त सचिव तथा सिक्किम इन्स्पायर्सका अधिकारी अभिजीत आर. पाटिलले दस्तावेज तयार गर्ने प्रस्तावित कार्यविधिबारे आफ्नो धारणा राखे। उनले यस प्रक्रियालाई व्यवस्थित, समन्वयात्मक र योजनाबद्ध ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिए।आफ्नो सम्बोधनमा प्रा. महेन्द्र पी. लामाले भिजन दस्तावेजको समग्र संरचना तथा वैचारिक रूपरेखाबारे मार्गदर्शन प्रदान गरे। उनले दस्तावेजका विभिन्न अध्यायहरूको विभाजन, विषयवस्तुको क्रम, लेखन शैली तथा विचारहरूको प्रस्तुतिबारे विस्तारपूर्वक प्रकाश पारे। साथै, दस्तावेजमा स्थानीय अभिव्यक्ति, मौलिक दृष्टिकोण, सांस्कृतिक पहिचान र सिक्किमको विशिष्ट पहिचानलाई समेट्नुपर्नेमा विशेष जोड दिए। भिजन दस्तावेजले राज्यका जनताको आकाङ्क्षा, मूल्य-मान्यता तथा मौलिक विशेषतालाई प्रतिबिम्बित गर्नुपर्ने उनको भनाइ थियो।

बैठकमा शिक्षा, वित्त, महिला तथा बाल विकास, पर्यटन तथा नागरिक उड्डयन र शहरी विकास विभागका प्रतिनिधित्व गर्ने कार्यकारी समिति सदस्यहरूले विस्तृत छलफल गर्दै आ-आफ्ना सुझाउ तथा विचार प्रस्तुत गरे। राज्य सहयोग अभियान (एसएसएम) का प्रतिनिधिहरूले पनि छलफलमा सहभागिता जनाए।

यसैक्रममा ईईपीएफसँग आबद्ध प्राविधिक सहयोग निकाय (टीएसए) ले प्रा. लामाद्वारा प्रस्तुत मार्गदर्शन तथा कार्यढाँचाका आधारमा भिजन दस्तावेजको प्रस्तावित अध्याय विभाजनसम्बन्धी प्रस्तुति दिएको थियो। प्रस्तुतिपछि सहभागी सदस्यहरूले दस्तावेजको संरचना, विषयगत क्षेत्र तथा मस्यौदा निर्माणको समग्र दृष्टिकोणलाई थप परिष्कृत बनाउने विषयमा सुझाउ र विचार राखे।

छलफलका क्रममा २०४७ तर्फ अघि बढ्दै गर्दा सिक्किमको विकास प्राथमिकता, जनआकाङ्क्षा तथा दीर्घकालीन लक्ष्यलाई समेट्ने समावेशी, दूरदर्शी र स्थानीय मौलिकतामा आधारित भिजन दस्तावेज निर्माण गर्नुपर्ने आवश्यकतामाथि जोड दिइयो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande