

- काशी र तमिलनाडुबीचको शताब्दीयौं पुरानो सांस्कृतिक, आध्यात्मिक एवं शैक्षिक सम्बन्धलाई नयाँ मजबुती मिल्ने :
-केन्द्रिय शिक्षामन्त्री प्रहलाद जोशी पनि रहे उपस्थित
वाराणसी, २८ नोभेम्बर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णनले शनिवार वाराणसी स्थित नमो घाटमा काशी–तमिल संगममको पाँचौं संस्करणको उद्घाटन गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै उनले डिजिटल बटन थिचेर समारोहको शुभारम्भ गरे। यस अवसरमा केन्द्रिय शिक्षा मन्त्री प्रहलाद जोशी पनि उपस्थित थिए। कार्यक्रममा तमिलनाडुबाट आएका २५० विद्यार्थीको टोलीले समेत सहभागिता जनायो।
उद्घाटन समारोहका क्रममा केन्द्रिय शिक्षा मन्त्री प्रहलाद जोशीले उपराष्ट्रपति र मुख्यमन्त्रीलाई गुलाबी मीनाकारीबाट निर्मित मयूरको स्मृति चिह्न प्रदान गरी सम्मानित गरे। त्यसपछि उपराष्ट्रपति र मुख्यमन्त्रीले तमिलनाडुबाट आएका विद्यार्थीहरूसँग भेटघाट गर्नुका साथै संवाद गरे।
काशी र तमिलनाडुबीचको शताब्दीयौं पुरानो सांस्कृतिक, आध्यात्मिक तथा शैक्षिक सम्बन्धलाई अझ् प्रगाढ़ बनाउने उद्देश्यले आयोजना गरिएको यस संगममलाई लिएर नमो घाटमा विशेष उत्साह देखियो। नोभेम्बर २८ देखि दिसम्बर १२ सम्म सञ्चालन हुने यस कार्यक्रममा तमिलनाडुबाट सात वटा अलग-अलग समूहमा कूल १ हजार ७५० प्रतिनिधि वाराणसी पुग्नेछन्।
यस वर्ष काशी–तमिल संगममको विषयवस्तु महान् तमिल कवि एवं दार्शनिक तिरुवल्लुवरको कालजयी कृति ‘तिरुक्कुरल’मा केन्द्रित रहेको छ। यस आयोजना मार्फत देशभरका युवा तथा विद्यार्थीहरूलाई तमिल भाषा, साहित्य र तिरुक्कुरलमा निहित नैतिक एवं जीवनमूल्यबारे परिचित गराउने प्रयास गरिनेछ।
उल्लेखनीय छ, तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरलमा कूल १ हजार ३३० दोहाहरू छन्। यस महान् ग्रन्थमा नैतिकता, सदाचार, मानवीय व्यवहार, सामाजिक जीवन तथा जीवनमूल्यसँग सम्बन्धित महत्त्वपूर्ण सन्देशहरू समेटिएका छन्। काशी–तमिल संगमम मार्फत यी विचारहरूलाई नयाँ पुस्तासम्म पुर्याउनुका साथै देशका विविध भाषा र संस्कृतिबीच संवाद तथा आपसी सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रयास भइरहेको छ।
केन्द्रिय शिक्षामन्त्री प्रहलाद जोशी अनुसार, यही उद्देश्यले देशका १ हजार ३८० उच्च शैक्षिक संस्थानहरूमा ‘तिरुक्कुरल अभ्यास’ नामक प्रतियोगिता शुरु गरिएको छ। यसमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई १० हजार रुपियाँको इन्टर्नशिप प्रदान गरिनेछ। प्रत्येक संस्थानबाट एकजना विद्यार्थी छनोट गरिनेछ, जसले आफ्नो संस्थानका अन्य विद्यार्थीहरूलाई समेत तिरुक्कुरलको साहित्यिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी गराउनेछन्।
संगमम अन्तर्गत तमिलनाडुबाट ५० जना शिक्षकको टोलीले पनि वाराणसी, प्रयागराज र अयोध्याका विभिन्न विद्यालय तथा कलेजहरूको भ्रमण गर्नेछ। यस क्रममा शिक्षकहरूले विद्यार्थीहरूलाई तमिल भाषा, साहित्य र प्राचीन ग्रन्थ तिरुक्कुरलबारे जानकारी गराउनेछन्।
/ बिशाल