
कोलकाता, २८ नोभेम्बर (हि.स.)। परिसीमन विधेयक पारित गराउने उद्देश्यले आह्वान गरिएको संसद्को तीनदिने विशेष सत्रलाई लिएर राष्ट्रिय राजनीतिमा गतिविधि तीव्र बनेको छ। आगामी ३० नोभेम्बरमा लोकसभा र २ दिसम्बरमा राज्यसभाको बैठक बस्नेछ भने ३ दिसम्बरमा विशेष सत्र समापन हुनेछ।
तृणमूल कङ्ग्रेसका सूत्रहरू अनुसार, यस छोटो सत्रमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को विधेयक पारित गराउने प्रयासको प्रतिवाद गर्न लोकसभामा विपक्षी दलका नेता तथा कङ्ग्रेस सांसद राहुल गान्धीले शुक्रवार राति पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीसँग टेलिफोन मार्फत कुराकानी गरेका छन्। दुवै नेताबीच संसदमा विपक्षी खेमाको रणनीतिबारे लामो छलफल भएको बताइएको छ।
तृणमूल कङ्ग्रेसले शनिवार गरेको दाबी अनुसार, लोकसभाको सिट सङ्ख्या बढ़ाउने प्रस्तावसहितको उक्त विधेयक पारित हुन नदिन विपक्षी दलहरूले चाल्न सक्ने सम्भावित कदमबारे दुवै नेताले विस्तृत छलफल गरेका छन्।
यो कुराकानी यस्तो समयमा भएको हो, जतिबेला राजगले विपक्षी गठबन्धन ‘इन्डि’ का सहयोगी शरद पवार नेतृत्वको राष्ट्रवादी कङ्ग्रेस पार्टी (शरदचन्द्र पवार) लाई आफ्नो पक्षमा ल्याउन सफलता प्राप्त गरेको सङ्केत देखिएको छ। अर्कोतर्फ, ‘इन्डि’ गठबन्धनका पूर्व सहयोगी तथा द्रमुक (डीएमके) का प्रमुख एमके स्टालिनले पनि विधेयकलाई समर्थन गर्ने सङ्केत दिएका छन्।
केन्द्र सरकारले उनका दुई प्रमुख माग स्वीकार गरेपछि स्टालिनको धारणा परिवर्तन भएको बताइएको छ। पहिलो, परिसीमनका क्रममा देशका प्रत्येक राज्यमा लोकसभा सिट सङ्ख्या ५० प्रतिशतले बढ़ाउनुपर्ने, ताकि तमिलनाडुको ७.२ प्रतिशत प्रतिनिधित्व कायम रहोस्। दोस्रो, लोकसभाको कूल सिट सङ्ख्या ५४३ बाट बढ़ाएर ८५० पुर्याएपछि राज्यअनुसारको सिट सङ्ख्या आगामी २५ वर्षसम्म परिवर्तन नगर्नुपर्ने।
कालीघाट स्थित पार्टी सूत्रहरू अनुसार, बदलिँदो राजनीतिक परिस्थितिमा राहुल र ममताबीच राष्ट्रवादी कङ्ग्रेस पार्टी (शरद) लाई विपक्षी गठबन्धनमै कायम राख्ने रणनीतिबारे विचार-विमर्श भएको छ। यसका साथै स्टालिनसँग ममताको राम्रो व्यक्तिगत सम्बन्धलाई ध्यानमा राख्दै विधेयकको विरोधमा उनको समर्थन प्राप्त गर्ने सम्भावनाबारे पनि छलफल भएको बताइएको छ।
राहुल गान्धीले दिल्लीबाट काङ्ग्रेस नेतृत्वले अन्य गैरभाजपा दलहरूसँग समन्वय कायम गर्न गरेको प्रयासको प्रगतिबारे पनि ममता ब्यानर्जीलाई जानकारी गराएका थिए। यसमा आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री जगनमोहन रेड्डी नेतृत्वको वाईएसआर कङ्ग्रेस पनि समावेश रहेको बताइएको छ।
पार्टी सूत्रहरूको दाबी अनुसार, ममता ब्यानर्जी विगत एक सातादेखि कोलकातामै बसेर ‘इन्डि’ गठबन्धनका शीर्ष नेताहरूसँग निरन्तर सम्पर्कमा छिन्। समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, राष्ट्रिय जनता दलका लालुप्रसाद यादव तथा तेजस्वी यादव, पीडीपी प्रमुख महबुबा मुफ्ती र नेशनल कन्फरेन्सका उमर अब्दुल्लासँग उनको निरन्तर कुराकानी भइरहेको बताइएको छ।
यस विषयमा तृणमूल कङ्ग्रेसका एक सांसदले भने, “भाजपा संसदमा परिसीमन विधेयक सहजै पारित हुने अपेक्षा गरिरहेको भए पनि वास्तविक परिस्थिति त्यति सहज हुने छैन। हाम्री पार्टी प्रमुखले कोलकातामा बसेर विपक्षी दलहरूसँग जसरी समन्वय गरिरहनुभएको छ, त्यसलाई हेर्दा हामी पूर्ण रूपमा आश्वस्त छौँ।”
ती सांसदले डीएमके हाल ‘इन्डि’ गठबन्धनबाट बाहिर रहे पनि परिसीमन जस्तो महत्त्वपूर्ण विषयमा तमिलनाडुका पूर्व मुख्यमन्त्री स्टालिनलाई विपक्षी खेमासँग ल्याउन ममता विशेष प्रयासरत रहेको दाबी समेत गरेका छन्।
संसदको विशेष सत्र शुरु हुनुअघि सत्तापक्ष र विपक्षी दुवै खेमाबाट भइरहेको रणनीतिक सक्रियताले राष्ट्रिय राजनीतिक वृत्तमा चासो बढ़ाएको छ। अब सबैको ध्यान विशेष सत्रका क्रममा बन्ने संसदीय समीकरण र विधेयकमाथिको छलफलमा केन्द्रित भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी