
नयाँ दिल्ली/काठमाडौं, 0३ नोभेम्बर (हि.स.)। भारतका विदेश सचिव विक्रम मिस्री आगामी ४ र ५ नोभेम्बरमा नेपालको औपचारिक भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा उनले आपसी हितसँग सम्बन्धित द्विपक्षीय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा छलफल गर्नुका साथै नेपालका प्रमुख नेताहरूसँग भेटवार्ता गर्नेछन्।
भारतको विदेश मन्त्रालयका अनुसार, भारत र नेपालबीच सुमधुर एवं मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। सहकार्यका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको अवस्थामा विदेश सचिवको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान-प्रदानलाई निरन्तरता दिनुका साथै व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नेपालको विदेश मन्त्रालयका अनुसार, मिस्रीले नेपालका विदेश सचिव अमृत राईसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष तथा आपसी हितका विषयमा विचार आदान-प्रदान हुनेछ।
यसका साथै दुवै देशबीच लामो समयदेखि कायम घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा मिस्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह, विदेशमन्त्री शिशिर खनाललगायत वरिष्ठ नेपाली अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी ५ नोभेम्बरमा नयाँ दिल्ली फर्किनेछन्।
हिन्दुस्थान समाचार / बिशाल