
वासिङ्टन/तेहरान, 03 नोभेम्बर (हि.स.)। अमेरिकाले कतारका अधिकारीहरूमार्फत इरानसँग सम्झौताका लागि वार्ता जारी रहेकै बेला इरानको केशम द्वीपमा सीमित सैन्य आक्रमण गरेको छ। तीन जना अमेरिकी अधिकारीका अनुसार, अमेरिकी सेनाले सोमबार केशम द्वीपमा आक्रमण गरेको हो। उनीहरूले यसलाई रक्षात्मक कारबाही बताउँदै क्षेत्रमा रहेका अमेरिकी सम्पत्तिको सुरक्षा गर्नु यसको मुख्य उद्देश्य रहेको बताएका छन्।
सीएनएनको समाचारअनुसार, एक अमेरिकी अधिकारीले इरानले अमेरिकी विमानमाथि गोलीबारी गरेपछि जवाफी कारबाहीस्वरूप आक्रमण गरिएको जानकारी दिएका छन्। उनका अनुसार, यो कुनै ठूलो सैन्य अभियान थिएन। अर्का अधिकारीले इरानले अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै सतहबाट आकाशमा प्रहार गर्ने मिसाइल प्रयोग गरिरहेको अवस्थामा सुरक्षाका लागि यो कदम चालिएको बताए।
अमेरिकामा मध्यावधि चुनाउ हुनुअघि भएको यस घटनाले इरानसँगको तनाउ अझै समाधान नभएको र दुई देशबीच पुनः सैन्य संघर्ष हुन सक्ने सम्भावना कायम रहेको संकेत गरेको छ।
आक्रमणबारे जानकारी भएका एक अधिकारीका अनुसार, प्रशासनले रक्षात्मक कारबाहीलाई अनावश्यक रूपमा चर्चामा आउन नदिन यसलाई गोप्य राख्ने प्रयास गरेको थियो। आक्रमणको उद्देश्य अमेरिकी सम्पत्तिको सुरक्षा गर्नु रहेको उनको भनाइ छ। यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सामाजिक सञ्जालमार्फत तेहरानसँगको कूटनीतिक प्रयास अझै जारी रहेको र सम्झौता हुन सक्ने बताएका बेला भएको हो।
सोमबार राति फक्स न्युजसँगको कार्यक्रममा ट्रम्पले इरानमा नयाँ आक्रमण भएको समाचारबारे प्रत्यक्ष टिप्पणी नगरे पनि इरानविरुद्ध युद्ध शुरु गर्ने आफ्नो निर्णयको बचाउ गरे। उनले हालको अवस्थालाई ठूलो युद्ध नभई सीमित युद्धको संज्ञा दिँदै इरानले सम्झौता नगरे युद्ध हुन सक्ने बताए। साथै, इरान सम्झौताका लागि निकै इच्छुक रहेको र सम्झौता हुने सम्भावना राम्रो रहेको उनको भनाइ थियो।
उपराष्ट्रपति जेडी भेन्सले पनि सोमबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने दिशामा केही प्रगति भएको बताएका छन्। उनले इरानको व्यवहार अप्रत्याशित रहने उल्लेख गर्दै अमेरिकासँग सैन्य तथा गैरसैन्य दुवै विकल्प रहेको बताए। वार्तालाई थप अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा हेर्न बाँकी रहेको उनको भनाइ थियो।
सीबीएस न्युजका अनुसार, कतारको अगुवाइमा तीन दिनसम्म चलेको अप्रत्यक्ष तथा गोप्य वार्ताबाट कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन। इरानले सोमबार अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको हातमा रहेको जनाएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले वार्तामा प्रगति भइरहेको संकेत गरेका छन्।
यसअघि ट्रम्पले आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग राम्रो कुराकानी भएको र त्यस क्रममा इरानसँगको युद्धबारे छलफल गरिएको बताएका थिए।
एक्सियोसको समाचारअनुसार, स्रोतहरूले राष्ट्रपति ट्रम्प वार्तालाई अगाडि बढाउन चाहिरहेको बताएका छन् भने प्रधानमन्त्री नेतान्याहुले इरानमाथि पुनः आक्रमण शुरु गर्न दबाउ दिइरहेको जनाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा सोमबार लिंकन मेमोरियल रिफ्लेक्टिङ पुलमा दिएको अन्तिम सम्बोधनका क्रममा ट्रम्पले पटकपटक इरानको उल्लेख गर्दै यो युद्ध नभएको बताएका थिए।
उल्लेखनीय छ, केशम द्वीप इरानको बन्दर अब्बास बन्दरगाह शहरबाट करिब १४ माइल टाढा अवस्थित छ। होर्मुज जलडमरूमध्यबाट हुने समुद्री आवागमनमाथि इरानको नियन्त्रण कायम राख्न यो द्वीप रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ। युद्धअघि यस जलमार्ग हुँदै दैनिक करिब दुई करोड ब्यारेल तेल ओसारपसार हुने गरेको थियो। यसअघि पनि अमेरिकाले युद्धका क्रममा यस द्वीपलाई निशाना बनाइसकेको छ।
हिन्दुस्थान समाचार / बिशाल