
गुवाहाटी (असम), ०४ नोभेम्बर (हि.स.)। गुवाहाटीस्थित विलास इन होटलमा पाँच जनाको गोली हानी हत्या गरेको आरोप लागेका घनकान्त गोगोई पुलिसको पेस्तोल खोसेर हिरासतबाट भाग्ने प्रयास गर्दा बुधबार बिहान पुलिसको गोलीबाट मारिएका छन्। घटना बिहान करिब ३ः१० बजी भएको हो।
सात दिनको पुलिस हिरासत अवधि पूरा भएपछि पुलिसले मंगलबार घनकान्तलाई कामरूप महानगर जिल्लाको मुख्य न्यायिक दण्डाधिकारी (सीजेएम) अदालतमा पेस गरेको थियो। अदालतले उनलाई न्यायिक हिरासतमा कारागार पठाउने आदेश दिएको थियो। त्यसपछि शिवसागर पुलिसले घनकान्तलाई लिएर गुवाहाटी केन्द्रिय कारागारबाट शिवसागरका लागि प्रस्थान गरेको थियो।
पुलिसका अनुसार, यात्राका क्रममा बुधबार बिहान करिब ३ः१० बजी फूलपानी सिगार रंगमन ढाबानजिक घनकान्तले पुलिस टोलीमाथि आक्रमण गरी एक पुलिस जवानको पेस्तोल खोसेर भाग्ने प्रयास गरेका थिए। उनको आक्रमणमा शिवसागर शहरका पुलिस उपनिरीक्षक देवाशीष शर्माघाइते भएका छन्। त्यसपछि पुलिसले गरेको जवाफी कारबाहीमा घनकान्त घटनास्थलमै मारिएका हुन्।
गत २६ अक्टोबर, २०२६ को राति करिब ९ बजी गुवाहाटीको विलास इन होटलमा गोलीकाण्ड भएको थियो। घटनापछि पुलिसले राति करिब १० बजी नै आरोपी घनकान्तलाई पक्राउ गरेको थियो। उक्त गोलीकाण्डमा भूदेव भराली (६५), हेलेना भराली (५८), देवर्षि कश्यप (३९), रिनिकी कश्यप (३०) र नारायण दास (४८) गरी पाँच जनाको मृत्यु भएको थियो।
मृतकमध्ये भूदेव भराली र नारायण दासको घर बरपेटामा रहेको छ। यसरी नै हेलेना भराली, देवर्षि कश्यप र रिनिकी कश्यप हाल गुवाहाटीको नवीन नगरमा बसोबास गर्दै आएका थिए। यद्यपि, उनीहरू पनि मूल रूपमा बरपेटाकै निवासी थिए।
गोलीकाण्डमा घाइते भएका बरपेटाका सत्येन्द्र पाठक (४३) को हाल गुवाहाटी मेडिकल कलेज अस्पताल (जीएमसीएच) मा उपचार भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी