
जनताको जनादेशको संरक्षण गर्नु आवश्यक: डीआर थापा
गान्तोक, ०४ नोभेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आफ्नो राष्ट्रव्यापी अभियान ‘लोकतन्त्र बचाऔँ, अराजकता हटाऔँ’ अन्तर्गत आज सिङ्तामस्थित प्रदेश पार्टी कार्यालयमा कार्यशाला आयोजना गरेको छ। कार्यशालापछि पदयात्रासमेत निकालिएको थियो, जसको उद्देश्य राजनीतिक असहिष्णुता, भ्रामक सूचना तथा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रयासविरुद्ध जनचेतना अभिवृद्धि गर्नु रहेको थियो।
कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापालगायत पार्टीका कार्यकारी सदस्य, पदाधिकारी तथा राज्यका विभिन्न क्षेत्रबाट आएका कार्यकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले भारतको लोकतान्त्रिक मूल्य-मान्यता, संवैधानिक संस्थाहरू तथा जनताको जनादेशको संरक्षण गर्नु आवश्यक रहेको बताए। उनले निर्वाचनमा पटक-पटक पराजय भोगेपछि पनि आत्मसमीक्षा तथा रचनात्मक लोकतान्त्रिक संवादमा संलग्न हुनुको सट्टा काङ्ग्रेस र उसका सहयोगी दलहरूले भ्रामक प्रचार, राजनीतिक वैमनस्य तथा जनतामा अशान्ति सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाए।
कार्यशालाका क्रममा थापाले मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) को महत्त्वबारे विस्तृत जानकारी दिँदै स्वच्छ, सही तथा विश्वसनीय मतदाता सूची कायम राख्न यसको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले कार्यकर्ताहरूलाई वर्तमान राजनीतिक घटनाक्रमबारे प्रभावकारी रूपमा जनतालाई जानकारी गराउन, तथ्यका आधारमा भ्रामक सूचनाको खण्डन गर्न, पार्टीको धारणा जिम्मेवारीपूर्वक प्रस्तुत गर्न तथा केन्द्र सरकारका उपलब्धि र पहलहरू जनतासमक्ष पुर्याउन मार्गदर्शन गरे।
अध्यक्ष थापाले पार्टी कार्यकर्ताहरूलाई झुटा प्रचारप्रति सतर्क रहन, जनचेतना अभिवृद्धि गर्न तथा संवैधानिक लोकतन्त्रका सिद्धान्तहरूको पालना गर्न आग्रह गरे। लोकतन्त्रको संरक्षण निर्वाचनमार्फत मात्र नभई संस्थाहरूप्रतिको सम्मान, कानुनी शासन तथा जनताको जनादेशको कदरबाट पनि हुने उनले जोड दिए।
कार्यशालापछि ‘लोकतन्त्र बचाऔँ, अराजकता हटाऔँ’ भन्ने सन्देशसहित पदयात्रा निकालिएको थियो। पार्टीका कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदेश पार्टी कार्यालयबाट सिङ्ताम पुलसम्म पदयात्रा गरेपछि पुनः पार्टी कार्यालय फर्किएका थिए।
यस पहलमार्फत भाजपा सिक्किमले लोकतान्त्रिक संस्थाहरूको संरक्षण, राजनीतिक जवाफदेहिता प्रवर्द्धन तथा जनताको आवाज र जनादेशलाई सर्वोपरि राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले अराजकताविरुद्ध उभिन, विभाजनकारी राजनीतिलाई अस्वीकार गर्न तथा सुदृढ, जिम्मेवार र जीवन्त लोकतन्त्र निर्माणमा योगदान पुर्याउन सबै नागरिकलाई आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल