तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
प्रवक्ता अल्बर्ट गुरुङ


गान्तोक, 04 नोभेम्बर (हि.स.)। राज्य सरकारका कर्मचारीहरूको तलब भुक्तानीमा भइरहेको कथित ढिलाइप्रति सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले गम्भीर चिन्ता व्यक्त गरेको छ। विशेषगरी तिहारको मुखमा तलब भुक्तानीमा ढिलाइ हुनु दुःखद रहेको उल्लेख गर्दै पार्टीले राज्य सरकारसँग यस विषयमा तत्काल स्पष्टीकरण दिन माग गरेको छ।

पार्टीका प्रवक्ता अल्बर्ट गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा हजारौँ सरकारी कर्मचारीका परिवारको आर्थिक व्यवस्थापन मासिक तलबमा निर्भर रहने बताएका छन्। उनले भने, 'ब्याङ्क ऋणको किस्ता, बालबालिकाको शिक्षा, उपचार खर्च तथा अन्य अत्यावश्यक भुक्तानीहरू तलब प्राप्त हुने निर्धारित मितिलाई ध्यानमा राखेर तय गरिएका हुन्छन्। यस्तो अवस्थामा तलब भुक्तानीमा ढिलाइ हुँदा कर्मचारीहरूले आर्थिक तनावसँगै ब्याङ्क जरिवाना, विलम्ब शुल्क तथा अतिरिक्त ब्याजजस्ता समस्याहरू भोग्नुपर्ने अवस्था आउन सक्छ।'

पार्टीले राज्य सरकारसँग तलब भुक्तानीमा ढिलाइ हुनुको कारणबारे तत्काल आधिकारिक स्पष्टीकरण जारी गर्न, भुक्तानीको निश्चित समयसीमा सार्वजनिक गर्न तथा ढिलाइका कारण कर्मचारीहरूले बेहोर्नुपरेको प्रमाणित आर्थिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ। साथै, सम्बन्धित ब्याङ्क तथा वित्तीय संस्थाहरूसँग समन्वय गरी प्रभावित कर्मचारीलाई अतिरिक्त शुल्क र ब्याजबाट राहत दिलाउन तथा भविष्यमा यस्तो समस्या दोहोरिन नदिन समयमै तलब भुक्तानी सुनिश्चित गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।विज्ञप्तिमा कर्मचारीहरूबाट पूर्ण निष्ठा र जिम्मेवारीका साथ काम गर्ने अपेक्षा राख्ने सरकारले पनि समयमै तलब भुक्तानी गर्ने आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। प्रशासनिक ढिलाइका कारण कर्मचारीहरूलाई ऋण लिनुपर्ने, ब्याङ्कसामु असहज परिस्थिति सामना गर्नुपर्ने वा अतिरिक्त आर्थिक भार बेहोर्नुपर्ने अवस्था सिर्जना गर्नु उचित नरहेको पार्टीको भनाइ छ।

सीएपीले तलब सरकारबाट प्रदान गरिने कुनै उपकार नभई कर्मचारीहरूले गरेको सेवाको उचित पारिश्रमिक तथा उनीहरूको अधिकार भएको स्पष्ट पारेको छ। सरकारले कर्मचारीहरूको मर्यादा, आर्थिक सुरक्षा र कल्याणलाई सम्मान गर्दै यस विषयमा मौनता तोडेर स्पष्ट जवाफ दिनुपर्ने माग पनि गरेको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande