
गान्तोक, ०४ नोभेम्बर (हि.स.)। सिक्किमका राज्यपाल दुष्यन्त गौतमले आज रानीपुलस्थित वृद्धाश्रमको भ्रमण गरी त्यहाँ बसोबास गरिरहेका ज्येष्ठ नागरिकहरूसँग तिहारको खुशी साटेका छन्।
लोक भवनका अनुसार, भ्रमणका क्रममा राज्यपालले आश्रममा रहेका सबै ज्येष्ठ नागरिकसँग व्यक्तिगत रूपमा भेटघाट गरी तिहारको शुभकामना व्यक्त गरे। उनले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै जीवनका अनुभवहरू पनि सुने।
यस अवसरमा राज्यपालले सबै ज्येष्ठ नागरिकलाई मिठाई खुवाए। त्यसको प्रत्युत्तरमा ज्येष्ठ नागरिकहरूले उनको शिरमा हात राखेर आशीर्वाद दिएका थिए।
ज्येष्ठ नागरिकहरूलाई सम्बोधन गर्दै राज्यपालले वृद्धवृद्धाहरू समाजका अमूल्य सम्पत्ति तथा मार्गदर्शक रहेको बताए। उनले उनीहरूको अनुहारमा मुस्कान ल्याउनु र समाजमा उनीहरूको महत्त्वपूर्ण स्थान रहेको अनुभूति गराउनु सबैको सामूहिक दायित्व रहेको उल्लेख गरे।
राज्यपालले आश्रमका सञ्चालकहरूसँग त्यहाँ उपलब्ध स्वास्थ्य उपचार सुविधा, खानपान तथा ज्येष्ठ नागरिकहरूको दैनिक हेरचाहसम्बन्धी व्यवस्थाबारे विस्तृत जानकारी पनि लिए। उनले आश्रमका सञ्चालक तथा कर्मचारीहरूले निःस्वार्थ भावनाका साथ गर्दै आएको सेवाको प्रशंसा गरे।
यस अवसरमा समाज कल्याण विभागकी सचिव सारिका प्रधानसहित अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।
यसका अतिरिक्त, राज्यपालले काञ्ची कामकोटि मन्दिरको पनि भ्रमण गरी पूजाअर्चना गरे। उनले सबै नागरिकको सुख, समृद्धि तथा कल्याणका लागि प्रार्थना गरे।
हिन्दुस्थान समाचार / बिशाल