
गान्तोक, ०४ नोभेम्बर (हि.स.)। उत्तर सिक्किमको पीएम श्री मङ्गन उच्चतर माध्यमिक विद्यालयले यस वर्ष आफ्नो स्थापनाको 75औं वर्षगॉंठ (प्लेटिनम जुब्ली) पालन गरिरहेको छ। यस अवसरमा जून 2026 देखि शुरू भएको वर्षव्यापी समारोह अप्रेल 2027 मा समापन हुनेछ।
यस क्रममा एसोसिएशन अफ् मङ्गन स्कूल एलुमनाईले आगामी 6 दिसम्बर, 2026 मा प्लेटिनम रन आयोजना गर्ने भएको छ। 5के र 10के विधामा आयोजना गरिने यस दौडको थीम 'फिटनेसका लागि दौड, विरासतका लागि दौड' रहेको छ। संस्थाका अध्यक्ष सोनाम नोर्गे लाचुङ्पाले राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए।
उनले भने, पीएम श्री मङ्गन उच्चतर माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली समारोह अन्तर्गत आगामी 6 दिसम्बरका दिन मङ्गनमा प्लेटिनम रन आयोजना गरिने छ। 5के र 10के विधामा आयोजना गरिने दौडका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिने छ। 5के दौड पूर्ण रूपमा विद्यार्थीहरूलाई समर्पित रहनेछ भने 10के खुल्ला रहनेछ।
उनले 10के दौड तीन उमेर समूह वर्गमा महिला र पुरुषका लागि आयोजना गरिने बताउॅंदै प्रत्येक वर्गका विजेता, प्रथम उपविजेता र दोस्रो उपविजेता क्रमश: 20, 15 र 10 हजार नगद पुरस्कार प्रदान गरिने बताए। यसैगरी, 5के वर्ग (केटा/केटी) का विजेताहरूलाई क्रमश: 15, 10 र 5 हजार नगद पुरस्कार प्रदान गरिने छ।
अध्यक्ष लाचुङ्पाले इच्छुक धावकहरूले अनलाइन र अफलाइन (गान्तोक र मङ्गन) नाम दर्ता गर्न सक्ने बताए। 5के वर्गका लागि 200 र 10के वर्गका लागि 500 रूपियॉं शुल्क भुक्तान गर्नु पर्नेछ भने नाम दर्ता गर्ने अन्तिम मिति 13 नोभेम्बर तय गरिएको उनले बताए।
यसैगरी, अमर सुब्बाले मङ्गनमा आयोजना हुन लागिरहेको दौडप्रति खुशी व्यक्त गर्दै यस दौडको माध्यमद्वारा धावकहरूले नयॉं ठाउॅंको अनुभव लिने सक्ने बताए। उनले यस दौडमा 9 वर्षकी शिवानी थापा र 76 वर्षकी गंगामाया थापाले पनि भाग लिने जानकारी गराए। उनीहरूको सहभागिताले सबै उमेर समुहका मानिसहरूलाई आफ्नो स्वास्थ्यप्रति जागरूक बन्न प्रेरणा मिल्ने उनले आशा व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल