महाराष्ट्रमा खडेरीको गम्भीर अवस्थालाई ध्यानमा राख्दै मनसेको दीपोत्सव रद्द
राज ठाकरे, मनसे अध्यक्ष


मुम्बई, 0४ नोभेम्बर (हि.स.)। महाराष्ट्रमा भीषण खडेरी र ग्रामीण क्षेत्रमा गहिरिँदै गएको जलसङ्कटलाई ध्यानमा राख्दै महाराष्ट्र नवनिर्माण सेना (मनसे) का अध्यक्ष राज ठाकरेले यस वर्ष शिवाजी पार्कमा आयोजना हुने दीपोत्सव रद्द गर्ने निर्णय गरेका छन्। राज्यको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै उनले नागरिकहरूलाई दीपावली पर्व साधारण मनाउन तथा पटाका पड्काउन र भव्य झिलिमिलीबाट टाढ़ा रहन अपील गरेका छन्।

राज ठाकरेले प्रत्येक वर्ष शिवाजी पार्कमा दीपोत्सव भव्य उत्साहका साथ मनाइने गरेको बताए। यस अवसरमा मैदानलाई आकर्षक बत्तीहरूले सजाउनुका साथै भव्य रूपमा पटाका पड्काइन्छ। उत्सव अवलोकन गर्न मुम्बई, ठाणे लगायत महाराष्ट्रका विभिन्न क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिसहरू आउने गर्छन्। तर, यस वर्ष राज्यमा व्याप्त भीषण खडेरीको अवस्थालाई हेर्दा दीपोत्सव आयोजना गर्नु उचित नलागेको उनले बताए।

उनी अनुसार, महाराष्ट्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको छ। ग्रामीण क्षेत्रमा पानीको गम्भीर समस्या उत्पन्न भएको छ भने खडेरीको सङ्कट निरन्तर गहिरिँदै गएको छ। यस्तो अवस्थामा ग्रामीण क्षेत्रका मानिसहरू, विशेषगरी महिला र बालबालिका, पानीको अभाव तथा आर्थिक समस्यासँग जुधिरहेका बेला शहरी क्षेत्रमा भव्य रूपमा उत्सव मनाउनु उचित नहुने उनको भनाइ छ।

मनसे नेता ठाकरेले मुख्यमन्त्रीले समेत साल १९७२ भन्दा गम्भीर खडेरीको आशङ्का व्यक्त गरेको बताए। यस्तो परिस्थितिका बाबजुद केही राजनीतिक दलका नेताहरूले उत्सव मनाउनु दुर्भाग्यपूर्ण रहेको उनले टिप्पणी गरे। महाराष्ट्रका नागरिकहरूले ग्रामीण क्षेत्रमा बसोबास गर्ने आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको समस्या बुझेर संवेदनशीलता देखाउनुपर्ने उनले आग्रह गरे।

खडेरीका कारण ग्रामीण क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिसहरू शहरतर्फ पलायन हुनसक्ने आशङ्का रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा दीपावलीको उत्साहमा केही संयम अपनाउन आवश्यक रहेको बताए। यो दीपावलीलाई निराशापूर्वक मनाउने आग्रह नभई वर्तमान सङ्कटलाई ध्यानमा राखेर उत्सवको भव्यता र पटाका पड्काउन नियन्त्रण राख्न अपील भएको उनले स्पष्ट पारे।

ठाकरेले नागरिकहरूलाई दीपावलीका अवसरमा घरमा दीप र कन्दील बाल्न, मिठाई तथा परम्परागत परिकार बाँड्न र परम्परागत शैलीमा पर्व मनाउन आग्रह गरे। तर, अत्यधिक बत्तीको प्रयोग तथा पटाका पड्काउनबाट जोगिन उनले अनुरोध गरेका छन्।

आगामी वर्षसम्म महाराष्ट्रको अवस्था सुधार हुने र राज्यमा पुनः समृद्धि फर्किने विश्वास व्यक्त गर्दै उनले राज्यमा देखिएको सङ्कट चाँड़ै हटोस् तथा सबै नागरिकको जीवनमा सुख र समृद्धि छाओस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्। अन्त्यमा उनले महाराष्ट्र नवनिर्माण सेना, आफ्नो परिवार र व्यक्तिगत तर्फबाट राज्यका सम्पूर्ण नागरिकलाई दीपावलीको हार्दिक शुभकामना दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande