
नयाँ दिल्ली, 0४ नोभेम्बर (हि.स.)। भारतीय रेलवेले अक्टोबर महिनामा अहिलेसम्मकै सर्वाधिक १४५.०७ मिलियन टन माल ढुवानी गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यो साल २०२५ को अक्टोबर महिनामा गरिएको १३३.९३ मिलियन टन ढुवानीको तुलनामा ८.३२ प्रतिशत बढ़ी हो। चालू वित्त वर्ष २०२६–२७ को पहिलो सात महिनामा (अप्रेल–अक्टोबर) पनि रेलवेले ९७८.७८ मिलियन टन माल ढुवानी गरेको छ। गत वित्त वर्षको सोही अवधिमा ९३५.१० मिलियन टन माल ढुवानी भएको थियो। यसरी माल ढुवानीमा ४.६७ प्रतिशत वृद्धि भएको छ।
रेल मन्त्रालय अनुसार, यस वर्ष अक्टोबर महिनामा विभिन्न प्रमुख वस्तुको ढुवानीमा उल्लेखनीय वृद्धि भएको छ। यस अवधि खाद्यान्न ढुवानी २६.३ प्रतिशत, स्वदेशी कोइला १६ प्रतिशत, अन्य वस्तु ११ प्रतिशत, क्लिङ्कर १०.४ प्रतिशत, घरेलु कन्टेनर ६.३ प्रतिशत, फलाम अयस्क पाँच प्रतिशत, खनिज तेल १.९ प्रतिशत र तयारी इस्पातको ढुवानीमा ०.५ प्रतिशत वृद्धि भएको छ।
बिजुलीघरहरूको बढ्दो माग पूरा गर्न रेलवेले स्वदेशी कोइलाको आपूर्ति पनि बढ़ाएको छ। अक्टोबर २०२६ मा दैनिक औसत ४६९.८ र्याक कोइला आपूर्ति गरियो, जबकि गत वर्षको सोही महिनामा यो सङ्ख्या दैनिक ३९३.२ र्याक थियो। यसरी कोइला आपूर्तिमा १९.५ प्रतिशत वृद्धि भएको छ।
माल ढुवानीसँगै यात्रु परिवहनमा पनि वृद्धि भएको छ। अक्टोबर महिनामा रेलवेले ६४.७२ करोड़ यात्रुलाई गन्तव्यसम्म पुर्याएको छ। गत वर्षको सोही महिनामा ६३.५२ करोड़ यात्रुले रेल यात्रा गरेका थिए।
चालु आर्थिक वर्षको अप्रेलदेखि अक्टोबरसम्म रेलवेले कूल ४४३.८ करोड़ यात्रुलाई सेवा प्रदान गरेको छ। गत वित्त वर्षको सोही अवधिमा यो सङ्ख्या ४३१.४ करोड़ थियो। यस अवधि उपनगरीय क्षेत्रबाहेकका यात्रु परिवहनमा ४.२ प्रतिशत र उपनगरीय यात्रु परिवहनमा १.७ प्रतिशत वृद्धि भएको छ।
रेल मन्त्रालय अनुसार, माल ढुवानीमा भएको वृद्धिले देशको आर्थिक गतिविधि र रसद व्यवस्थालाई सुदृढ़ बनाउन रेलवेले गरिरहेको प्रयासलाई प्रतिबिम्बित गर्छ। क्षमता विस्तार तथा सञ्चालन दक्षतामा सुधार गर्दै रेलवेले आफ्नो यातायात सञ्जाललाई निरन्तर मजबुत बनाइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी