
चेन्नई, 0४ नोभेम्बर (हि.स.)। तमिलनाडु विधानसभाका रिक्त पाँच सीटमा उपनिर्वाचनको कार्यक्रम दिवालीपछि घोषणा हुनसक्ने सम्भावना छ। अन्नाद्रमुक (एआईएडीएमके) का विधायकहरूले राजीनामा दिएपछि यी सीटहरू रिक्त भएका छन्। राज्यमा गत अप्रेलमा सम्पन्न विधानसभा निर्वाचनमा तमिलगा वेत्री कझगम (टीवीके) ले १०८ सिट जितेको थियो। कांग्रेस, वीसीके, मुस्लिम लिग, भारतीय कम्युनिस्ट पार्टी र भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को समर्थनमा उसले गठबन्धन सरकार गठन गरेको छ।
सरकारसँग पर्याप्त विधायक संख्या नभएपछि अन्नाद्रमुकको टिकटमा निर्वाचित २५ विधायकले पार्टी नेतृत्वको निर्देशन अवज्ञा गर्दै टीवीके सरकारलाई समर्थन गरेका थिए। यसले पार्टीभित्र अन्योल सिर्जना गर्यो। त्यसपछि अन्नाद्रमुकका केही विधायकले राजीनामा दिएर टीवीकेमा प्रवेश गरे। फलस्वरूप सात विधानसभा सीट रिक्त भएका थिए। तीमध्ये मदुरान्तकम र धारापुरमका दुई सीटमा हालै उपनिर्वाचन सम्पन्न भइसकेको छ। अन्नाद्रमुकबाट निर्वाचित मरगदम कुमारवेल र सत्यबामाले आफ्नै पुराना सीटहरूबाट टीवीकेको टिकटमा चुनाउ लड़ेका थिए र दुवै विजयी भएका थिए।
हाल पुदुकोट्टई जिल्लाको विरालीमलाई, करुर, तिरुनेलवेली जिल्लाको अम्बासमुद्रम, इरोड जिल्लाको पेरुन्दुरई तथा मुख्यमन्त्री विजयले राजीनामा दिएपछि रिक्त भएको तिरुचि पूर्व विधानसभा सीट गरी पाँच सीटमा उपनिर्वाचन हुन बाँकी छ। यी सीटहरूसँग सम्बन्धित मुद्दामा मद्रास उच्च न्यायालयले फसेला सुरक्षित राखेको छ। अदालतको फसेला चाँड़ै आउने अपेक्षाबीच निर्वाचन आयोगले पाँचै क्षेत्रमा उपनिर्वाचन गराउने तयारी गरिरहेको छ।
हाल मतदाता नामावलीको विशेष संक्षिप्त पुनरावलोकन प्रक्रिया जारी छ। यो प्रक्रिया दिसम्बरमा सम्पन्न हुने र जनवरीको पहिलो सातामा अन्तिम मतदाता नामावली प्रकाशित गरिनेछ। उपनिर्वाचनको घोषणा भएपछि यसमा केही परिवर्तन हुनसक्ने बताइएको छ। यसैबीच निर्वाचन आयोगले मतदान केन्द्रहरूको नयाँ सूची सार्वजनिक गरेको छ, जसमा ५६ वटा नयाँ मतदान केन्द्र थपिएका छन्। आयोगले सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीहरूसँग पनि छलफल गरिरहेको छ।
मुख्यमन्त्रीको राजीनामाका कारण रिक्त भएको तिरुचि पूर्व विधानसभा सीट बाहेक अन्य चार क्षेत्रमा अन्नाद्रमुक छाड़ेर टीवीकेमा प्रवेश गरेका सी. विजयभास्कर (विरालीमलाई), एम.आर. विजयभास्कर (करुर), इसाक्की सुब्बैया (अम्बासमुद्रम) र जयकुमार (पेरुन्दुरई) लाई पुनः उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ। निर्वाचन आयोगले आगामी २० दिसम्बरसम्म पाँचै विधानसभा सीटमा उपनिर्वाचन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी