कालेबुङलाई आगामी 15 दिनसम्म ट्याङ्करबाट पानी आपूर्ति गरिने, सांसद राजू बिष्टले स्वयं खर्च वहन गर्ने
सांसद राजू बिष्ट


कालेबुङ, 04 नोभेम्बर (हि.स.)। कालेबुङ नगरपालिका क्षेत्रमा पिउने पानीको सङ्कट समाधान गर्न दार्जीलिङका सांसद राजू बिष्टले पहल गरेका छन्। उनले आगामी 15 दिनसम्म शहरका विभिन्न क्षेत्रमा ट्याङ्कर मार्फत दैनिक पानी उपलब्ध गराउने घोषणा गरेका छन्। विशेष कुरा के हो भने यस अवधिभरि ट्याङ्करबाट पानी आपूर्ति गर्ने सम्पूर्ण लागत उनी स्वयं वहन गर्नेछन्।

बुधवार सांसद राजू बिष्टले कालेबुङ नगरपालिकामा समीक्षा बैठक गरी खानेपानी सङ्कटको अवस्थाबारे जायजा लिए। बैठकमा कालेबुङका विधायक भरत छेत्री, जिल्ला मेजिस्ट्रेट, नगरपालिका प्रशासक सहित जिल्ला तथा नगरपालिका अधिकारीहरू उपस्थित थिए।

राजू बिष्ट अनुसार जलाशयको लेदो सफा गर्ने, मर्मत एवं त्यसको व्यवस्थालाई दुरूस्त बनाउने आवश्यकता भएको कारणले पिउने पानीको सङ्कट उत्पन्न भएको हो। तथापि सम्बन्धित विभागले वैकल्पिक पानी आपूर्ति व्यवस्था नगरी मर्मत कार्य शुरु गर्ने प्रयास गऱ्यो। जलाशयको लेदो निकाल्ने र मर्मत कार्य आगामी 15 दिनभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ, तबसम्म नगरपालिका क्षेत्रमा दैनिक ट्याङ्कर मार्फत पानी आपूर्ति गरिने छ।

उनले भने, कालेबुङमा आगामी 100 वर्षसम्म खानेपानीको सङ्कट उत्पन्न हुन नदिनको लागि दीर्घकालीन पानी आपूर्ति पूर्वाधार विकास गर्न ठोस कदम उठाइँदैछ। यो योजना पूरा भएपछि भविष्यमा मानिसहरूले पानीको अभावको सामना गर्न पर्नेछैन। सांसदले भने, कालेबुङ लगायत पहाड़ी क्षेत्रमा पिउने पानी, सरसफाइ र अन्य नागरिक सुविधासम्बन्धी समस्या पुरानो हो।

सांसद अनुसार यी समस्याहरू पछिल्लो सीपीआई (एम) र तृणमूल कङ्ग्रेस सरकारको कार्यकालका हुन्। पहाड़ी क्षेत्रलाई स्वच्छ, हरियाली र दिगो बनाउन भाजपाले व्यापक दृष्टिकोणको साथमा काम गरिरहेको छ।

राजू बिष्टले कालेबुङका जनतालाई सहयोग एवं धैर्यताका लागि धन्यवाद दिँदै भरोसा दिलाए, भाजपाले समस्यामाथि चर्चा मात्र होइन, त्यसको समाधानका लागि काम पनि गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande