भारतीय सेनालाई थप ४५० स्वदेशी नागास्त्र-१ एन्टी-ट्याङ्क लोइटरिङ म्यूनिशन सिस्टम हस्तान्तरण
स्वदेशी नागास्त्र-1 एंटी-टैंक लोइटरिंग म्यूनिशन सिस्टम


नयाँ दिल्ली, 0४ नोभेम्बर (हि.स.)। शत्रुका शक्तिशाली ट्याङ्क समेत क्षणभरमै नष्ट गर्न सक्ने क्षमता भएको स्वदेशी ‘नागास्त्र-१ एन्आटी-ट्याङ्क लोइटरिङ म्यूनिशन सिस्टम भारतीय सेनाले प्राप्त गरेको छ। यसको निर्माण गर्ने नागपुर स्थित कम्पनी सोलार डिफेन्स एन्ड एयरोस्पेस लिमिटेडले दोस्रो खेप अन्तर्गत ४५० वटा प्रणाली सेनालाई हस्तान्तरण गरेको हो। जीपीएसयुक्त यो आत्मघाती ड्रोन शत्रुको क्षेत्रमा प्रवेश गरी दुई मिटरको दूरीसम्मको सटीकतामा आक्रमण गर्न सक्षम रहेको बताइएको छ। ‘अपरेशन सिन्दूर’का क्रममा पनि भारतीय सेनाले पाकिस्तानका आतङ्कवादी ठेगानाहरूलाई निशाना बनाउन नागास्त्र-१ को प्रयोग गरेको थियो।

भारतीय सेनाले आफ्नो सटीक आक्रमण क्षमता अभिवृद्धि गर्न ४५० वटा नागास्त्र-१आर लोइटरिङ युद्ध सामग्रीको अर्डर दिएको थियो। जीपीएसयुक्त यी स्वदेशी प्रणालीमा सटीक आक्रमण, उच्च हिमाली क्षेत्रमा सञ्चालन तथा दिनरात निगरानी गर्नसक्ने क्षमता रहेको छ। शत्रुका ठेगानाहरूमा लक्षित आक्रमणका लागि तयार गरिएको यो हतियारले देशको सैन्य क्षमता थप सुदृढ़ बनाउने अपेक्षा गरिएको छ। यस प्रणालीको परीक्षण लद्दाख तथा उत्तर प्रदेशको झाँसी नजिकै बबीना लगायतका विभिन्न स्थानमा गरिएको छ। आगामी दिनमा सेनाले यस्ता थप अत्याधुनिक स्वदेशी हतियार प्राप्त गर्न सक्ने सम्भावना छ।

नागपुर स्थित सोलार डिफेन्स एन्ड एयरोस्पेस लिमिटेडमा निर्मित अत्याधुनिक नागास्त्र-१आर प्रणालीको पहिलो खेप साल २०२४ को जुन महिनामा भारतीय सेनालाई हस्तान्तरण गरिएको थियो। पहिलो खेपमा प्राप्त १२० वटा प्रणाली ‘अपरेशन सिन्दूर’का क्रममा पाकिस्तानका आतङ्कवादी ठेगानाहरूलाई निशाना बनाउन प्रयोग गरिएको थियो। यस हतियारको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै सेनाले आफ्नो सटीक आक्रमण क्षमता विस्तार तथा पैदल सेनाको आधुनिकीकरणका लागि आकस्मिक खरिद अधिकार अन्तर्गत थप ४५० वटा प्रणालीको आदेश दिएको थियो। उक्त प्रणालीको आपूर्ति गत महिना गरिएको हो।

सोलर डिफेन्स एन्ड एयरोस्पेस लिमिटेडद्वारा निर्मित यस प्रणालीमा ८० प्रतिशतभन्दा बढ़ी स्वदेशी सामग्री प्रयोग गरिएको छ। यसलाई सामान्य भाषामा ‘उड्दै लक्ष्य खोजेर आक्रमण गर्ने हतियार’ भन्न सकिन्छ। यसले हवाई घातको शैलीमा काम गर्छ। शत्रुको क्षेत्रमा उड़ेर पुगेपछि लक्ष्यको माथि आकाशमा घुमिरहन्छ र उपयुक्त अवसर मिल्नेबित्तिकै सटीक आक्रमण गरी लक्ष्य नष्ट गर्नसक्छ। विशेष कुरा के छ भने आक्रमण रद्द गर्नुपर्ने अवस्थामा यसलाई फिर्ता बोलाउन पनि सकिन्छ, जसले गर्दा पुनः प्रयोग गर्न सकिन्छ।

कम्पनी अनुसार, नागास्त्र-१ लाई शत्रुको राडारको निगरानीबाट बच्ने गरी डिजाइन गरिएको छ। यसले चार हजार ५०० मिटरभन्दा बढ़ी उचाइबाट शत्रुको गतिविधिमाथि निगरानी गर्नसक्छ। यही विशेषताले यसलाई शत्रुको क्षेत्रमा गोप्य रूपमा प्रवेश गरी सुरक्षित ढङ्गले आक्रमण गर्न सहयोग पुर्याउँछ। विशेषगरी आतङ्कवादीहरूको समूह तथा सवारीसाधनको समूहलाई निशाना बनाउन यो प्रभावकारी हुनसक्ने बताइएको छ। यो प्रणाली लगातार ६० मिनेटसम्म आकाशमा रहनसक्छ। अर्थात्, एक घण्टासम्म शत्रुको क्षेत्रमा निगरानी गर्दै उपयुक्त अवसर मिल्नेबित्तिकै आक्रमण गर्नसक्छ।

यो किफायती प्रणाली हो र यसको प्रक्षेपण उपकरणलाई पूर्ण रूपमा पुनः प्रयोग गर्न सकिन्छ। यसमा ३६० डिग्री घुम्न सक्ने क्यामेरा जड़ान गरिएको छ भने रातिको समयमा सञ्चालनका लागि तापीय क्यामेरा जड़ान गर्ने विकल्प पनि उपलब्ध छ। जीपीएसयुक्त यस आत्मघाती ड्रोनले दुई मिटरको दूरीसम्मको सटीकतामा आक्रमण गर्नसक्छ। यसलाई जमीनबाट सहजै प्रक्षेपण गर्न सकिन्छ। यसले १.५ किलोग्राम विस्फोटक पदार्थ बोकेर १५ किलोमिटरसम्म निगरानी गर्दै लक्ष्य भेदन गर्न सक्षम रहेको बताइएको छ। यसको प्रयोगबाट आतङ्कवादी लाञ्चिङ प्याड, घुसपैठ गर्ने समूह तथा शत्रुका प्रशिक्षण शिविरमा सटीक आक्रमण गर्न सकिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande