
नयाँ दिल्ली, ०५ नोभेम्बर (हि.स.)। केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले आज बिहान इन्डिया गेट छेउछाउको क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३९९ मापन गरेको छ। यो ‘अति खराब’ श्रेणीमा पर्दछ। तिहारको पर्व नजिकिँदै गर्दा मानिसहरूले साँझ पर्नासाथ पटेका पड्काउन शुरु गरेका छन्। यो यस्तो समयमा भइरहेको छ, जब उच्चतम अदालतले पटेकासम्बन्धी दिशानिर्देश जारी गरिसकेको छ। तर, शासन र अधिकारीहरूले भने यसप्रति आँखा चिम्लिएको देखिन्छ।
राष्ट्रिय राजधानी दिल्लीमा तिहारअघि नै वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा पुगेको छ। सीपीसीबीले आज बिहान जारी गरेको तथ्याङ्कअनुसार, इन्डिया गेट छेउछाउको क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क ३९९ मापन गरिएको छ। वायु गुणस्तर सूचकाङ्कको यो स्तर ‘अति खराब’ श्रेणीमा पर्दछ। यसले दिल्लीको वातावरणमा बढ्दो प्रदूषणलाई दर्शाउँछ।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डको तथ्याङ्कअनुसार, राजधानीका धेरै क्षेत्रहरूमा हावाको गुणस्तर ‘अति खराब’ र ‘गम्भीर’ श्रेणीमा पुगेको छ। यो अवस्था चिन्ताजनक छ। तथ्याङ्कअनुसार, दिल्ली एम्स छेउछाउको क्षेत्रमा वायु गुणस्तर ‘गम्भीर’ श्रेणीमा मापन गरिएको छ। नौरोजी नगर रिङ रोडमा एक्यूआई ४१६ पुगेको छ, जुन ‘गम्भीर’ श्रेणीमा पर्दछ। आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क २९६ मापन गरिएको छ र यस क्षेत्रको हावालाई ‘खराब’ श्रेणीमा वर्गीकरण गरिएको छ। यी तथ्याङ्कले दिल्लीका विभिन्न क्षेत्रमा प्रदूषणको व्यापकता उजागर गरेका छन्। अक्षरधाम मन्दिर आसपास २९३ एक्यूआई मापन गरिएको छ।
सीपीसीबीका अनुसार, बुधबार नोएडा एनसीआरको दोस्रो सबैभन्दा प्रदूषित शहर बनेको थियो। बोर्डका अधिकारीहरूका अनुसार, प्रदूषण नियन्त्रणका लागि बिहीबारदेखि २० नोभेम्बरसम्म निर्माण कार्य बन्द रहनेछन्। ग्रेप-२ लागू भएपछि पनि शहरका विभिन्न स्थानमा नियम उल्लङ्घन भइरहेको छ। प्रदूषण नियन्त्रणका लागि उपलब्ध स्रोतसाधन पनि सीमित मात्रामा देखिएका छन्। यति मात्र होइन, नियम पालना नगरी खुलेआम निर्माण कार्य भइरहेका छन्। ग्रेटर नोएडामा ३०९ एक्यूआई मापन गरिएको छ।
नोएडा प्रदूषण नियन्त्रण बोर्डको क्षेत्रीय कार्यालयका सहायक अभियन्ता किशन सिंहले ५ देखि २० नोभेम्बरसम्म निर्माण कार्य पूर्ण रूपमा बन्द रहने बताए। यस्तो अवस्थामा आगामी केही दिनसम्म प्रदूषणबाट राहत मिल्ने सम्भावना छ। नियम पालना नगर्नेहरूमाथि कडा कारबाही गरिनेछ। उनीहरूलाई सूचना जारी गर्नुका साथै जरिवाना पनि लगाइनेछ।
आजदेखि लागू हुने प्रमुख प्रतिबन्धहरू
- खुल्ला स्थानमा गरिने निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध रहनेछ।
- यो प्रतिबन्ध राजमार्ग, सडक, फ्लाइओभर, ओभरब्रिज, विद्युत् प्रसारण, पाइपलाइन तथा दूरसञ्चारजस्ता रेखीय परियोजनाहरूमा समेत लागू हुनेछ।
कुन परियोजनाले पाउनेछन् छुट?
रेलवे, मेट्रो, विमानस्थल, बस टर्मिनल (आईएसबीटी), अस्पताल, खानेपानी आपूर्ति, सरसफाई तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित महत्त्वपूर्ण परियोजनाहरूलाई यस प्रतिबन्धबाट बाहिर राखिएको छ।
गाजियाबादमा एक्यूआई ६९२ नाघ्यो
गाजियाबादमा बिहीबार वायु गुणस्तर निकै खराब रह्यो। यहाँ एक्यूआई ६९२ मापन गरिएको छ। यसैगरी, गुरुग्राममा आज एक्यूआई ५१२ र फरीदाबादमा ६६७ मापन गरिएको छ। यी तथ्याङ्क एक्यूआई डट इन्डियाले सार्वजनिक गरेको हो।
हिन्दुस्थान समाचार / भवानी थामी