
नयाँ दिल्ली, 05 नोभेम्बर (हि.स.)। भारत र इटालीबीच कपड़ा तथा फेशन क्षेत्रमा रणनीतिक र प्राविधिक सम्बन्धलाई थप सुदृढ़ बनाउने उद्देश्यले केन्द्रिय कपड़ा मन्त्रालयकी सचिव नीलम शमी राव प्रतिनिधिमण्डल सहित इटाली भ्रमणमा रहेकी छन्। भ्रमणको तेस्रो दिन उनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले इटालीको प्रसिद्ध कपड़ा उत्पादन केन्द्र प्रातोको विस्तृत भ्रमण गरेको छ।
मन्त्रालय अनुसार, बुधवार नीलम शमी रावले ‘कन्फिन्डुस्ट्रिया टोस्काना नोर्ड’ का अध्यक्षसँग द्विपक्षीय वार्ता गरिन्। त्यसपछि आयोजित विशेष गोष्ठीमा भारत-इटाली सहकार्य, प्राविधिक आदान-प्रदान, लगानी तथा औद्योगिक साझेदारीमा जोड दिइयो।
यस क्रममा ‘भारत टेक्स २०२७’ लाई विश्वव्यापी कपड़ा उद्योगको प्रमुख मञ्चका रूपमा प्रस्तुत गरियो। यसले दुवै देशका उद्योगीहरूलाई नयाँ व्यापारिक अवसर उपलब्ध गराउने अपेक्षा गरिएको छ। गोष्ठीपछि भारतीय र इटालियन कपड़ा उत्पादकहरूबीच प्रत्यक्ष व्यावसायिक बैठक समेत सम्पन्न भयो। बैठकमा प्रत्यक्ष व्यापार, सामग्री आपूर्ति तथा नयाँ सम्झौताका सम्भावनाबारे छलफल गरियो।
प्रतिनिधिमण्डलले प्रातोका विभिन्न कपड़ा उत्पादन केन्द्रहरूको प्रत्यक्ष अवलोकन समेत गऱ्यो। भ्रमणका क्रममा इटालीको उत्पादन सम्बन्धी विशेषज्ञता, चक्रीय कपड़ा अर्थव्यवस्था तथा दिगो उत्पादन पद्धतिबारे जानकारी लिइयो।
भारत–युरोपेली सङ्घ स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को पृष्ठभूमिमा यस भ्रमणलाई दुवै देशबीच दीर्घकालीन आर्थिक साझेदारी तथा बजार पहुँच विस्तार गर्ने दिशामा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी